काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त बनाएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान भएको बताएका छन् ।
उनले नेवार समुदायमा हर्षोल्लासका साथ मनाइने म्हः पूजाको विशेष सांस्कृतिक तथा आध्यात्मिक महत्त्व रहेको उल्लेख गरेका छन् । ‘म्हः’ अर्थात् आफ्नै शरीर र त्यसमा रहेको चेतनालाई साक्षी राखेर अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउने उनको भनाइ छ ।
प्रधानमन्त्री शाहका अनुसार यस मौलिक परम्पराले नेवार समुदायमा आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षण गर्दै सामाजिक तथा जातीय एकतालाई थप मजबुत बनाउँदै आएको छ ।
यसैगरी, भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाउनुभएको पौराणिक मान्यतासँग जोडिएको गोवर्धन पूजाका अवसरमा कृषिकर्मका सहयात्री गोरुको पूजा गर्नुका साथै कृषि औजारहरूको समेत पूजा गरिने उनले उल्लेख गरेका छन् ।
उनले भैलो र देउसीका माध्यमबाट छरछिमेकमा आत्मीयता, सद्भाव र आपसी सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।
‘हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून्,’ प्रधानमन्त्री शाहले शुभकामना सन्देशमा भनेका छन् ।