काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र संवर्द्धन गर्नु सबैको सामूहिक जिम्मेवारी भएको बताएका छन् ।
सोमबार काठमाडौंमा २१३औँ भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले आदिकवि भानुभक्त आचार्यको योगदानलाई स्मरणमा मात्रै सीमित नराखी त्यसलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यलाई थप समृद्ध बनाउनुपर्नेमा जोड दिए ।
सभामुख अर्यालले आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र परिवर्तनशील सामाजिक संरचनाबीच नेपाली भाषा, संस्कृति र मौलिक पहिचान जोगाउनु चुनौतीपूर्ण बन्दै गएको बताए । उनले भानुभक्तले देखाएको सरलता, स्पष्टता र जनस्तरसँगको निकटता आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै युवा पुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले सृजनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै भानुभक्तका आदर्शलाई समयानुकूल रूपमा अघि बढाउनुपर्ने बताए । साथै, भानुभक्तको सम्मानमा गरिने हरेक कार्य नेपाली राष्ट्रियताको रक्षा र मौलिकताको परिचायक हुने धारणा पनि राखे ।
सभामुख अर्यालले भने, “भानुभक्तलाई सम्झनु मात्र होइन, उनको योगदानलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने संकल्प लिनु आवश्यक छ ।”
कार्यक्रममा सभामुख अर्यालले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका वरिष्ठ साहित्यकार महेश्वर शर्मा र संस्कृतिविद् डा. आना एम सिस्टरलाई सम्मान पनि गरे ।