काठमाडौं । राजधानीका विभिन्न सञ्चारगृहका प्रवेशद्वार अवरुद्ध हुने गरी शंकास्पद अवस्थामा पार्किङ गरिएका सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
सोमबार बिहान कान्तिपुर पब्लिकेशनको तीनकुनेस्थित कार्यालय, अनलाइनखबरको नयाँबानेश्वरस्थित कार्यालय र हिमालय टेलिभिजनको कार्यालयको गेटअगाडि निजी नम्बर प्लेटका सवारीसाधन तेर्स्याएर राखिएको अवस्थामा भेटिएका थिए। ती सवारीसाधनका कारण सञ्चारकर्मीको आवतजावतसँगै कार्यालयका नियमित सवारी सञ्चालनमा समेत समस्या भएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले सञ्चारगृहका गेटअगाडि शंकास्पद रूपमा सवारीसाधन रोकिएको जानकारी प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको बताए। उनका अनुसार ती सवारीसाधन हटाउने कामसँगै आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले ट्राफिक प्रहरीसँगको समन्वयमा सवारीसाधन नियन्त्रणमा लिएर कानुनी प्रक्रिया सुरु गरेको जनाएको छ। ती गाडी कसले, किन र कुन उद्देश्यले सञ्चारगृहका प्रवेशद्वारमा राखेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक विवरणअनुसार घटनामा संलग्न तीनवटै सवारीसाधन निजी नम्बर प्लेटका छन्। प्रहरीले घटनास्थलबाट हटाइएका गाडीको प्राविधिक परीक्षण, सीसीटीभी फुटेज तथा अन्य प्रमाणको अध्ययन गरी सम्बन्धित व्यक्तिको पहिचान गर्ने प्रयास गरिरहेको छ।
घटनाप्रति नेपाल पत्रकार महासंघले पनि गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका कार्यालय प्रवेशद्वारमै सवारीसाधन राखेर पत्रकार तथा कर्मचारीको आवतजावतमा अवरोध पुर्याइएको भन्दै तत्काल अवरोध हटाउन, निष्पक्ष छानबिन गर्न र दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ। साथै सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
यसअघि पनि थापाथलीस्थित बाह्रखरी मिडियाको कार्यालयको पार्किङ प्रवेशद्वारमा यस्तै प्रकृतिको घटना भएको थियो। त्यतिबेला ट्राफिक प्रहरीले सवारीसाधन हटाएको थियो।
प्रहरीले पछिल्लो घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान जारी राखेको जनाएको छ। अनुसन्धान पूरा नभएकाले घटनाको उद्देश्य र संलग्न व्यक्तिबारे अहिले नै निष्कर्षमा पुग्न नसकिने प्रहरीको भनाइ छ।