पोखरा । पोखरा महानगरपालिका–८ न्युरोड क्षेत्रमा सञ्चालन हुने सवारीसाधनमा आकस्मिक रूपमा प्रदूषण परीक्षण गरिएको छ ।
आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय कास्कीको संयुक्त टोलीले प्रदूषण परीक्षण गरेको हो । परीक्षणका क्रममा अधिकांश सवारीसाधन तोकिएको प्रदूषण मापदण्डमा फेल भएका छन् ।
टोलीले प्रदूषण मापन गर्ने उपकरणसहित सडकमै सवारीसाधनको परीक्षण गरेको थियो । परीक्षण गरिएका ४० वटा सवारीसाधनमध्ये २२ वटाले तोकिएको मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गरेको भेटिएको छ । पोखरा नगरक्षेत्रमा सञ्चालन हुने सिटी बससहित डिजेल इन्जिनबाट चल्ने अन्य सवारीसाधनको परीक्षण गरिएको थियो ।
आधाभन्दा बढी सवारीसाधनले स्वीकृत मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गरेको भेटिएपछि आवश्यक कानुनी कारबाहीका लागि सबै सवारीसाधनलाई यातायात व्यवस्था कार्यालय कास्की पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले सवारीसाधनको नियमित मर्मतसम्भार गर्न तथा तोकिएको प्रदूषण मापदण्डको पालना गर्न चालक र व्यवसायीलाई निर्देशनसमेत दिएको छ ।