काठमाडौँ । एमबीबीएस तथा बिडीएस इन्टर्न चिकित्सकहरूले स्टाइपेन्ड सम्बन्धी निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
एमबीबीएस तथा बिडीएस इन्टर्न संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले चिकित्सा शिक्षा आयोगको पूर्ण बैठक तत्काल बोलाएर शिक्षा मन्त्रालयले गरेको स्टाइपेन्ड सम्बन्धी निर्णय अनुमोदन गरी कार्यान्वयन गर्न माग गरेका हुन् ।
संघर्ष समितिका सह–संयोजक विकासकुमार शाहले आन्दोलन व्यक्तिगत स्वार्थका लागि नभई इन्टर्न चिकित्सकको श्रमको सम्मान र मेडिकल विद्यार्थीको भविष्यका लागि भएको बताए । उनका अनुसार शिक्षा मन्त्रालयले अध्ययन समितिको सिफारिसका आधारमा इन्टर्न मेडिकल अफिसरको स्टाइपेन्ड ७५ प्रतिशत पुर्याउने निर्णय गरे पनि आयोगको पूर्ण बैठक नबस्दा हालसम्म कार्यान्वयन हुन सकेको छैन ।
निर्णय कार्यान्वयनमा ढिलाइ भएपछि आन्दोलन गर्न बाध्य भएको बताउँदै शाहले आयोगको पूर्ण बैठक तत्काल बोलाई निर्णय लागू गर्न सरकारसँग माग गरे । माग सम्बोधन भए आन्दोलन अन्त्य गरेर अस्पताल फर्की बिरामीको सेवामा जुट्न तयार रहेको उनले बताए ।
शाहले नेपाल मेडिकल एसोसिएसनले इन्टर्न चिकित्सक र मेडिकल विद्यार्थीका मागमा प्रभावकारी भूमिका खेल्न नसकेको टिप्पणी पनि गरे । एसोसिएसनले निजी मेडिकल कलेजको हितभन्दा चिकित्सक र मेडिकल विद्यार्थीको अधिकारलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
प्रदर्शनमा सहभागीहरूले ‘प्रतिवेदन कार्यान्वयन गर’, ‘इन्टर्नमाथिको विभेद अन्त्य गर’ र ‘हाम्रो माग स्पष्ट छ– निर्णय र कार्यान्वयन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरूले स्टाइपेन्ड सम्बन्धी निर्णय तत्काल कार्यान्वयन नभए आन्दोलनलाई जारी राख्ने चेतावनी दिएका छन् ।