काठमाडौं । नेपालमै उपलब्ध गुणस्तरीय तथा अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षाबारे विद्यार्थी र अभिभावकलाई जानकारी गराउने उद्देश्यले काठमाडौंमा दुई दिने ‘स्टडी इन नेपाल’ शैक्षिक मेला सुरु भएको छ ।
विगत ११ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मेलाले नेपाली शैक्षिक संस्थाले पनि अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्न सक्ने सन्देश प्रवाह गर्ने लक्ष्य लिएको आयोजकको भनाइ छ ।
मेलाका आयोजक तथा भिजन मिडिया इन्कर्पोरेशन एजुकेसन डटकमका प्रबन्ध निर्देशक तारामान रावलका अनुसार नेपाली शिक्षा प्रणालीप्रति समाजमा रहेका नकारात्मक धारणा चिर्न र स्वदेशी विश्वविद्यालय तथा कलेजहरूको क्षमता प्रस्तुत गर्न मेला आयोजना गरिएको हो ।
हाल नेपालमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका साथै विभिन्न विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त शैक्षिक संस्थाले व्यवस्थापन, इन्जिनियरिङ, सूचना प्रविधि, बायोमेडिकल, एभिएसन, हस्पिटालिटी, मानविकी, एथिकल ह्याकिङलगायत २५ भन्दा बढी विषयमा अन्तर्राष्ट्रियस्तरका पाठ्यक्रम सञ्चालन गरिरहेका छन् ।
यस वर्षको मेलामा सरकारी तथा निजी गरी ५० भन्दा बढी शिक्षण संस्थाको सहभागिता रहेको छ । काठमाडौं विश्वविद्यालयको कुसुमो, शंकरदेव क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, एनइसी इन्जिनियरिङ क्याम्पस तथा न्याथमलगायतका शिक्षण संस्था मेलामा सहभागी छन् ।
रावलले विदेशमा मात्रै गुणस्तरीय शिक्षा पाइन्छ भन्ने धारणा परिवर्तन गर्नु मेलाको मुख्य उद्देश्य रहेको बताए । विद्यार्थीले आफ्नो रुचि, क्षमता र भविष्यको लक्ष्यअनुसार विषय छनोट गर्नुपर्नेमा जोड दिँदै उनले अध्ययनलाई केवल आम्दानीको माध्यम नभई सीप, दक्षता र दीर्घकालीन करिअर निर्माणको आधारका रूपमा लिनुपर्ने बताए ।
पछिल्लो समय अध्ययनभन्दा वैदेशिक रोजगारीलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै रावलले नेपालमै गुणस्तरीय शिक्षा हासिल गर्न सकिने र यहाँ उत्पादन भएका दक्ष जनशक्तिको श्रमबजारमा उच्च माग रहेको दाबी गरे ।
मेलामा सहभागी विद्यार्थीले विभिन्न कलेजबाट भर्ना शुल्कमा १५ हजारदेखि २५ हजार रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको छ । कक्षा १२ उत्तीर्ण तथा परीक्षा दिएर बसेका विद्यार्थीलाई प्रोत्साहनस्वरूप चलचित्रको टिकट र विभिन्न उपहार पनि उपलब्ध गराइने आयोजकले जनाएको छ ।
दुई दिनसम्म सञ्चालन हुने मेलामा सहभागी भएर नेपालमै उपलब्ध शैक्षिक अवसर, छात्रवृत्ति, पाठ्यक्रम तथा करिअरसम्बन्धी जानकारी लिन विद्यार्थी र अभिभावकलाई आयोजकले आग्रह गरेको छ ।