काठमाडौं । सरकारले १० वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राख्दै सार्वजनिक खरिद तथा निर्माण प्रक्रियामा सहभागी हुन प्रतिबन्ध लगाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले असार २५ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई कालोसूचीमा सूचीकृत गरेको हो ।
कालोसूचीमा परेकामध्ये नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहको ‘महादेव खिम्ती निर्माण सेवा प्रा.लि.’ लाई तीन वर्षका लागि प्रतिबन्ध लगाइएको छ । त्यस्तै, सिंहको सोही कम्पनी र सुमित रौनियारको ‘पप्पु कन्स्ट्रक्सन प्रा.लि.’ मिलेर बनेको ‘पप्पु–महादेव जेभी’ लाई पनि हुलाकी राजमार्ग निर्देशनालय, इटहरीको सिफारिसमा तीन वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय, इटहरीकै सिफारिसमा सुभास श्रेष्ठको ‘श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी (हेटौंडा) प्रा.लि.’ लाई पनि तीन वर्षका लागि कालोसूचीमा समावेश गरिएको छ ।
यस्तै, बाजुराको त्रिवेणी नगरपालिकाको पत्रका आधारमा ताराप्रसाद पुडासैनीको ‘ग्लोवल ड्रग्स सप्लायर्स (धनगढी)’ लाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
कार्यालयका अनुसार अन्य कालोसूचीमा परेका कम्पनीहरूमा दीपेन्द्रबहादुर शाहीको ‘भारत–सिद्धसाई जेभी’ (१ वर्ष ६ महिना), कमला अधिकारी शर्माको ‘लुम्बिनी मोटर्स एण्ड पम्प इन्डस्ट्रिज’ (१ वर्ष), रनवीर नेपालीको ‘हीरा नेपाली निर्माण सेवा (जुम्ला)’ (२ वर्ष), रोशन राईको ‘मयुमी कन्स्ट्रक्सन’ (१ वर्ष) तथा रवि श्रेष्ठको ‘शुभम् निर्माण सेवा (गोरखा)’ (२ वर्ष) रहेका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कालोसूचीमा परेका यी कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद, ठेक्का वा निर्माणसम्बन्धी प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।