काठमाडौं । नेपाली यु–१९ महिला क्रिकेट टोलीकी कप्तान सोनी पाख्रिनले मलेसियामा हुने एसीसी यु–१९ महिला प्रिमियर कपमा देशले गर्व गर्ने प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
गौशालामा बिहीबार आयोजित बिदाइ कार्यक्रममा कप्तान पाख्रिनले छोटो तयारीका बाबजुद टोलीले उत्कृष्ट क्रिकेट खेल्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘राम्रो तयारी पाएका छौँ। देशले गर्व गर्ने किसिमको क्रिकेट खेल्नेछौँ। यही प्रतियोगितामा राम्रो क्रिकेट खेलेर आफूलाई प्रमाणित गर्ने विश्वास छ ।’
असार २७ गतेदेखि मलेसियाको क्वालालम्पुरमा हुने एसीसी यु–१९ महिला प्रिमियर कपका लागि क्यानले बुधबार सोनी पाख्रिनको कप्तानीमा नेपाली टोली घोषणा गरेको थियो । यसअघि पूजा महतोको कप्तानीमा खेलेको टोलीमा सोनी उपकप्तान थिइन्। पूजा उमेर समूहबाट बाहिरिएपछि सोनीले टोलीको नेतृत्व सम्हालेकी हुन् ।
टोलीका मुख्य प्रशिक्षक महेशप्रसाद रिजालले उपलब्ध स्रोत–साधनअनुसार तयारी सन्तोषजनक रहेको बताए। उनले महिला यु–१९ विश्वकपका लागि पनि प्रतियोगिता महत्वपूर्ण रहेकाले टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
रिजालले नेपाली यु–१९ महिला टोलीले बनाएको लिगेसीलाई कायम राख्दै अझ सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए। कप्तान सोनी, सना प्रविण र सावित्री धामीजस्ता सक्षम ब्याटर तथा बलिङ विभाग पनि सन्तुलित रहेकाले नेपाल प्रतियोगिताका बलिया टोलीमध्ये एक रहेको उनको भनाइ थियो ।
पछिल्लो डेढ महिनामा सुर्खेत र मधेश प्रदेशमा उमेर समूहका प्रतियोगिता भएका कारण नेपाली टोलीले करिब १० दिन मात्र बन्द प्रशिक्षण गरेको थियो । टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अभ्यास गरेको थियो ।
प्रतियोगितामा नेपालसहित १३ राष्ट्र सहभागी छन् । नेपाल समूह ‘ए’ मा हङकङ, कतार र सिंगापुरसँग रहेको छ । पहिलो खेलमा नेपालले कतारसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि असार २८ गते सिंगापुर र असार ३० गते हङकङसँग खेल्ने तालिका छ। प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् भने सेमिफाइनलमा पुग्ने चार टोलीले एसिया कपको यात्रा तय गर्नेछन्। फाइनल साउन २ गते हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहलगायतले बिहीबार टोलीलाई बिदाइ गरेका थिए । नेपाली टोली सोही दिन मलेसिया प्रस्थान गर्दैछ।
सोनीको कप्तानीमा रहेको नेपाली टोलीमा सना प्रविण, अलिसाकुमारी यादव, सावित्री धामी, मनीषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, त्रिसना विक, कृस्मा गुरुङ, अन्जी पाठक, मनीषा चौधरी, स्नेहा महरा र करुणा विष्ट रहेका छन् ।