काठमाडौँ । फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेपछि नेपालको पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले पदबाट राजीनामा दिएका छन्। एन्फा र एरेनाबीच आपसी सहमतिमा उनको सम्झौता अन्त्य गर्ने निर्णय भएको हो।
स्विस मूलका इटालियन प्रशिक्षक गुग्लिएल्मो एरेनाले नेपाली समयअनुसार सोमबार साँझ आफ्नो लिंक्डइनमार्फत जारी गरेको वक्तव्यमा फिफाको निलम्बनपछि नेपाली फुटबलको भविष्य अनिश्चित बनेकाले आफूले अघि सारेको दीर्घकालीन परियोजनालाई निरन्तरता दिन सम्भव नभएको बताएका छन्।
“गम्भीर विचारपछि एन्फा र मैले नेपालको पुरुष राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रूपमा रहेको मेरो सम्झौता आपसी सहमतिमा अन्त्य गर्ने निर्णय गरेका छौं,” उनले लेखेका छन्।
उनका अनुसार फिफाको निलम्बनले राष्ट्रिय टोलीका तत्कालीन र मध्यकालीन योजना पूर्ण रूपमा अन्योलमा पारेको छ। यस्तो परिस्थितिमा आफूले तयार पारेको खेलकुद परियोजनालाई प्रभावकारी रूपमा अघि बढाउन नसकिने निष्कर्षमा पुगेपछि सम्झौता अन्त्य गर्ने निर्णय गरिएको उनले बताएका छन्।
एरेनाले फिफाको निलम्बनपछि नेपाली फुटबलका अन्तर्राष्ट्रिय गतिविधि ठप्प भएको अवस्थाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय टोली, महिला टोली, उमेर समूहका खेलाडी, प्रशिक्षक तथा सम्पूर्ण नेपाली फुटबल समुदायप्रति आफ्नो शुभेच्छा व्यक्त गरेका छन्।
“नेपाल बसाइका क्रममा मलाई साथ, विश्वास र सम्मान दिने एन्फा, खेलाडी, प्रशिक्षक समूह, प्राविधिक स्टाफ र सम्पूर्ण नेपाली फुटबल परिवारप्रति म हृदयदेखि आभारी छु। नेपाली फुटबलले चाँडै स्थायित्व प्राप्त गर्दै पुनः सही दिशामा अघि बढ्नेछ भन्ने आशा लिएको छु,” उनले उल्लेख गरेका छन्।
नेपालमा बिताएको समयले अन्तर्राष्ट्रिय फुटबलप्रतिको आफ्नो दृष्टिकोणलाई अझ समृद्ध बनाएको उल्लेख गर्दै एरेनाले अब नयाँ प्रशिक्षण अवसरको खोजीमा अघि बढ्ने बताएका छन्।
अस्ट्रेलियाली प्रशिक्षक म्याट रसले आफ्नो सम्झौता अवधि बाँकी रहँदै पद त्यागेपछि एरेना यसै वर्ष नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनले युवा खेलाडीको विकास, आधुनिक खेलशैली र दीर्घकालीन टोली निर्माणलाई केन्द्रमा राखेर राष्ट्रिय टोलीको योजना अघि बढाएका थिए। तर फिफाले एन्फालाई निलम्बन गरेपछि राष्ट्रिय टोलीका गतिविधि प्रभावित बने र केही महिनामै उनको कार्यकाल टुंगिएको छ।
एरेनाको बहिर्गमनसँगै नेपालको पुरुष राष्ट्रिय फुटबल टोली फेरि एकपटक मुख्य प्रशिक्षकविहीन बनेको छ। फिफाको निलम्बन कायम रहँदासम्म राष्ट्रिय टोलीको प्रशिक्षण, अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी र नेपाली फुटबलको समग्र भविष्य अन्योलमै रहने देखिएको छ। एरेनालाई यसै वर्ष हुने साफ पुरुष च्याम्पियनसिपसहित आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टोली तयार पार्ने जिम्मेवारी दिइएको थियो। तर नेपाली फुटबलमा उत्पन्न पछिल्लो संकटका कारण उनको कार्यकाल अपेक्षाभन्दा धेरै छोटो बन्न पुगेको छ।
अब एन्फाको निलम्बन फुकुवा नहुँदासम्म नयाँ मुख्य प्रशिक्षक नियुक्ति र राष्ट्रिय टोलीको नियमित गतिविधि सुरु हुने सम्भावना न्यून देखिएको छ।