लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले प्रतिनिधिसभा विघटन गर्दैमा प्रतिगमन नहुने बताएका छन् । उनले संसद् विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनको मिति तोक्ने काम अग्रगमन भएको बताएका हुन् ।
नेकपा अर्घाखाँचीले सन्धिखर्कमा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रतिनिधिसभा विघटन हुँदैमा सङ्घीयता, गणतन्त्र केही खारेज नहुने स्पष्ट पारे । उनले भने, “राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकारमात्र हैन कुनै संवैधानिक अङ्गहरुसमेत विघटन नभएको अवस्थामा प्रतिनिधिसभा विघटन हुँदैमा लोकतन्त्र मासियो भनेर भन्नु अनुचित हो ।”
बृहत् कार्यकर्ता भेलामा ओली पक्षका पार्टी स्थायी कमिटी सदस्य तथा मन्त्री उर्जा, जलश्राेत तथा सिंचाई टाेप बहादुर रायमाझी, पार्टी स्थायी कमिटी सदस्य तथा मुख्यमन्त्री लुम्बिनी प्रदेश सरकार शंकर पाेख्रेल, पार्टी स्थायी कमिटी सदस्य तथा मन्त्री खानेपानी मणि थापा लगायतले सम्बोधन गरेका थिए ।
पोखरेलले पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ हरुलाई निर्वाचनमा जान डराएको आरोप लगाए । ‘उहाँहरुले निर्वाचन आयोगमा पुगेर निर्वाचनका काम अगाडि नबढाउन आग्रह गर्नुले निर्वाचनमा जान डराएको प्रष्ट हुन्छ।’
काम गर्न नदिएर प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री केपी ओलीले ताजा जनादेशका लागि वैशाखमा चुनाव गराउने भन्दा त्यसलाई रोक्न हतारहतार गरेर आयोग पुग्नु दाहाल–नेपाल जनतासँग परीक्षण हुन डराएको दाबी गरे ।
तत्कालीन एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनको बेला दाहाल र नेपालको निर्वाचन क्षेत्रमा ओली पुगेर भोट मागिदिनु परेकाले अब आउँदो चुनावमा जनताले मत दिन्छन् भन्ने विश्वास नभएर उहाँ (दाहाल–नेपाल) हरु जनतामा जाने विषयमा डराएको पोखरेलको दाबी छ ।
भेलामा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टीलाई विभाजन गरेर पुष्पकमल दाहाल र माधव नेपालले गद्दारी गरेको आरोप लगाएका छन् । आफैंले बनाएको पार्टीका अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई ढाल्न खोज्दा दाहाल–नेपाल आफैं सडकमा पुगेको उनले दाबी गरेका छन् ।