काठमाडौँ । रुपन्देहीको कोटहीमाई गा.पा. ५ बेनिनगरबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २० लाख ५० हजार रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपन्देही, कोटहीमाई गा.पा. २ बस्ने ३६ वर्षीय पवन कुमार मुराव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनले चलाएको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याइएका विभिन्न मोडेलका ३५ थान आईफोन बरामद गरिएको हो ।
बरामद आईफोनको अनुमानित मूल्य १९ लाख ७० हजार रुपैयाँ रहेको छ भने अनुमानित ८० हजार रुपैयाँ मूल्य बराबरको निजले चलाएको भारतीय मोटरसाइकलसमेत गरी जम्मा २० लाख ५० हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको छ। घटनामा आईफोन, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।