लेखनाथ (कास्की) । पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल भरिभराउ भएका छन् । यतिबेला लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ ।
गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगर फेवातालको तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथ, तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको संख्या उत्साहजनक रहेको होटल संघ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
भारतमा बढ्दो गर्मीबाट राहत खोज्न तथा बिदाको सदुपयोग गर्न भारतीय नागरिकले नेपाललाई आकर्षक र सहज गन्तव्यका रूपमा रोज्न थालेको बताउँदै पोखरामा सुवेदीले उनीहरूको स्वागत र सम्मान गर्नु पोखरेली पर्यटन व्यवसायीको दायित्व भएको बताए । पर्यटकको चहलपहल बढेसँगै डुंगा सयर, पदयात्रा तथा अन्य पर्यटन गतिविधिसमेत बढेको अध्यक्ष सुवेदीको भनाइ छ ।
फेवातालमा दिनहुँ चार पाँच हजार भारतीय पर्यटकले डुंगा सयर गर्ने गरेको जानकारी फेवा डुंगा व्यवसायी संगठनका सहसचिव धनबहादुर विकले बताए। डेढ महिनादेखि भारतीय पर्यटक उल्लेख्य उपस्थिति र फेवातालको मध्यभागमा अवस्थित बाराही मन्दिरमा दर्शन गर्न जान रुचि राख्ने गरेको विकले बताए। “दिनभरि ताल छेउमा डुंगा कुरी बेलुका रित्तो हात घर जानुपर्ने बमाध्यता भारतीय पर्यटक बढेसँगै हटेको छ”, सहसचिव विकले भने । अहिले बाराही घाटबाट मात्र दिनहुँ १४० डुंगाहरु चलायमान छन् ।
टान गण्डकीका कोषाध्यक्ष दीपक सापकोटाले पछिल्लो डेढ महिनामा मात्र डेढ लाख भारतीय पर्यटक पोखरा आएको जानकारी दिँदै उनीहरू धर्मिकस्थल, छोटो दूरीको पदयात्रा, प्याराग्लाइडिङ, वन्जिजम, डुंगा सयर तथा र्याफ्टिङ गर्ने गरेको बताए । भारतीय पर्यटक यतिबेला पाँच तारेहोटलदेखि साना होटल र धर्मशालासम्म भरिभराउ रहेको बताए ।
परतीय पर्यटकले कोठामा भन्दा पनि खानामा वार्गेनिङ गर्ने गरेको कुरा होटल व्यवसायी पार्वती पाण्डेले सुनाए। भारतमा होटलका रुम मंहगा हुने भएकाले रुममा उनीहरू खासै वार्गेनिङ गर्दैनन् । पोखरामा होटल भारतीय पर्यटकले धानिएको बताउँदै नेपालका पर्यटकीय तथा धार्मिक क्षेत्रका बारेमा भारतमा प्रचारप्रसार गर्न सक्यौँ भने नेपालमा भारतीय पर्यटक खचाखच हुने उनको भनाइ छ ।
पर्यटन व्यवसायीले यो मौसमलाई ‘अफसिजन’का रूपमा लिने गरेको भए पनि पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेपछि पर्यटन व्यवसायीहरू थप उत्साहित बनेका छन् । नेपाली नयाँ वर्षयता सुरु भएको पर्यटक आगमनको लहर जेठ महिनाको अन्त्यसम्म पनि निरन्तर कायम रहेको पर्यटन व्यवसायी बताउँछन् ।
पर्यटकीय रूपमा चहलपहल भएको पोखरामा एक महिनाको समयावधिमा पोखरामा मात्रै डेढ लाख भारतीय पर्यटक भित्रिएका तथ्यांक पर्यटन व्यवसायीसँग छ । यहाँका होटलको ९० प्रतिशत अकुपेन्सी पुगेको होटल व्यवसायीहरू बताउँछन् । विशेषगरी उनीहरू तालबाराही मन्दिर, पुग्दीको शिव मन्दिर, केदारेश्वर, विन्ध्यवासिनी, मुक्तिनाथ, मनकामना मन्दिरमा जाने गर्छन् ।
नेपालमा आउने पाहुनाको माया गर्नु हामी सबैको कर्तव्य हो । नेपालीहरू पनि भारतको धार्मिक मठमन्दिरमा जाँदा होटलमा भन्दा पनि बाहिर नै पकाएर खाने गर्छन् । पोखरामा एकैदिन १० हजार पर्यटक अटाउन सक्ने क्षमता होटलमा छ ।