चन्दा क्षेत्री/काठमाडौँ। कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो ।
पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५० रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
सुरुवातमै ओपनर विनोद भण्डारीलाई ४ रनमा गुमाएको सुदूरपश्चिमका लागि सैफ अली जैब र ब्रान्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरे । सैफ १४ र ब्रान्डन २२ रन बनाएर आउट भए ।
त्यसपछि कप्तान दीपेन्द्र र इशान पाण्डेले चौथो विकेटका लागि ७४ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई जितनजिक पुर्याए । इशानले ३१ बलमा ३७ रन बनाए । शेर्फन रदरफोर्ड ८ रनमा अविजित रहे ।
बलिङतर्फ पोखराका धनन्जय लक्षन, महेदी हसन र शाकिब अल हसनले एक–एक विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक अविजित ४० रन बनाए । उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अन्तिम ओभरमा उनले १५ रन जोडे । महेदी हसनले ३२ रन बनाए भने कप्तान कुशल भुर्तेलले २१ रनको योगदान दिए ।
महेदी र कुशलले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए । ओपनर दिनेश खरेल ४ रनमा आउट भए । शाकिब अल हसनले १४, धनन्जय लक्षनले ११, सदिरा समराविक्रमाले ८ र किरण ठगुन्नाले १ रन बनाए । विपिन खत्री ५ रनमा अविजित रहे ।
सुदूरपश्चिमका अनिल खरेलले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । हेमन्त धामी, स्कट कुइगेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे ।
एनपीएलअन्तर्गत बिहीबार दुई खेल हुनेछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज दिउँसो साढे १२ बजे भिड्नेछन् । दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ ।