खोटाङको मजुवागढी नगरपालिका १ रत्नपार्कका ४१ वर्षीय रामेश कुमार परियार पुखैली पेशा सिलाई व्यवसायमा आत्मनिर्भर बनेका छन् ।
खोटाङको दिक्तेल बजारको रत्नपार्कमा आर के टेलर्स एण्ड सटिङ्ग सुटिङ्ग सेन्टरबाट आफ्नो दैनिक दिनचर्चा चलाउने मात्र होइन एक सफल व्यवसायीका रुपमा सफल भएका छन् ।
रामेशले २०६० सालमा एउटा मिसिन राखेर सुरु गरेको पसलबाट १७ बर्षको अबधिमा सटिङ्ग सुटिङ्ग सेन्टरको रुपमा बिकास गर्न सफल भएका हुन् ।
रामेशका अनुसार आफ्नो बुबा स्व पदम परियारले सिलाई व्यवसाय गर्ने भएकाले १४ बर्षकै हुदाँ आफुले सामान्य लुगा सिलाउन सिकेको उनी बताउँछन । उनका भिनाजु मदन दर्जीले थप सिलाई सिकाउनका लागि काठमाडौं लिएर गएको रामेशले बताए । रामेशले बिगतको दु:ख सम्झिदै भने ‘१४ बर्षको उमेरमा काठमाडौंमा अर्कोको घरमा बसेर काम गर्दा भनेको समयमा खान पाइथ्यो, न राम्रो लुगा लगाउन ।’
रमेश भन्छन् ७ बर्ष काठमाडौंमै बसेर लुगा सिलाए, त्यस पछि एउटा सटिङ्ग सुटिङ्ग खोल्ने लक्ष्य राखेर आफु बैदेशिक रोजगारीका लागि कतार पुगे । कतारमा ३ बर्ष र मलेसियामा ३ बर्ष गरि ६ बर्ष बैदेशिक रोजगारीमा गएर खाडी मुलुकमा श्रम गरेर कमाएको रकम लिएर खोटाङ्गको दिक्तेल बजारमा एउटा सिलाई मेसिन राखेर व्यवसाय सुरु गरेको हुँ ।
सुरुवाति दिनहरुमा अरुको घरमा बिहान देखि बेलुका सम्म काम गर्दा पनि छाक टार्न धौ धौ पर्दथ्यो । तर अहिले ५ जना कर्मचारीलाई रोजगारी दिन सफल भएको छु ।
अहिले सबै खर्च कटाएर मासिक रुपमा ७५ हजार भन्दा बढी रकम बचाउन सफल भएको उनले बताए । एउटा मिसिनबाट सुरु गरेको पसललाई आज ३५ लाख भन्दा बढिको सटिङ्ग सुटिङ्ग सेन्टरको रुपमा बिकास गर्न रामेश सफल भएका छन् । कपडा सिलाएर नै दिक्तेल बजारमा १ करोड भन्दा बढिको घर बनाउन सफल भएको उनको भनाई रहेको छ । रमेश भन्छन आज यो ठाँउ सम्म आइ पुग्नको लागि श्रीमती कमला परियारको ठूलो सहयोग छ ।
नेपाली समाजमा दलित समुदायका मानिसलाई अझै पनि हेप्ने प्रवृति कायमै छ । पहिला सिलाई पेशा गर्ने मानिहरुलाई नेपाली समाजमा दर्जी भन्ने चलन थियो, ती दर्जीले सिलाएको लुगा सबैलाई चल्थ्यो तर छोएको पानी चल्दैन थियो त्यस कारणले दर्जीहरुले यो पेशालाई छोड्दै गए छोड्नुको कारण बर्ष भरि लुगा सिलायो एक पाथि धान वा मकै र कोदो पाइन्थ्यो । त्यहि भएर दर्जी समुदायका मानिसहरु सिलाई पेशाबाट पलायन हुदै गए तर अहिले पहिलाको जस्तो बालिमा काम गर्नु पर्ने बाध्यता छैन अहिले सिलाई पेशामा आधुनिकिकरण भएको छ , सिलाई पेशामा दलित भन्दा बाहुन तथा अन्य समुदायका मानिसहरु बढी आवद्ध छन् ।
सिलाई पेशा भनेको यस्तो काम हो जो घरमै बसेर काम गर्न सकिन्छ । तर पछिलो समय सिलाई पेशामा बढि महिलाहरुको आकर्षण बढ्न थालेको छ । धेरै जस्ता महिलाहरु सफल व्यवसायी तथा उद्यमी बनेका छन ।