नेपाल कम्युनिष्ट पार्टी फुट संघारमा पुगेका बेला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भने आफ्नै पूर्वसमूहको भेला गरेका छन्।
गृहमन्त्री रामबहादुर थापा बादल प्रतिनिधिसभा विघटनपछिका बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै देखिएपछि प्रचण्ड माधव नेपाल पक्षमा उनी ओलीतिरै लागेको निष्कर्ष निस्कियो ।
बालुवाटारमै बसेको प्रचण्ड अध्यक्षताको स्थायी कमिटी बैठकमा पनि बादल गएनन् ।
बादल ओलीको पक्षमा रहे पनि उनी निकट देव गुरुङ,पम्फा भुसाल लगायतका नेताहरु भने ओलीको विपक्षमा छन् । बादलमाथि हिजो बेलुकादेखिनै मन्त्रीबाट राजीनामा दिन उनी निकट नेताहरुले दबाब बढाएका छन् ।
सोमबार बिहान प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका आफू पक्षीय सांसदहरूलाई बालुवाटारमा बोलाएका थिए। राष्ट्रिय सभा सदस्य रहेका बादल उक्त भेलामा जाने अनुमान गरिएको थियो। तर उनी बालुवाटार नगएर सोमबार बिहान मन्त्रीक्वार्टर पुल्चोकमै बसे।
बादलसँग तत्कालीन माओवादीबाट छुट्टिएर मोहन वैद्यसँग जाँदाको समूह छ। उक्त समूहपछि माओवादी केन्द्रसँग एकता भएर आएको थियो।
पुर्व माओवादीमा बादल समुहका ३५ जना केन्द्रिय सदस्य छन् । त्यसैगरी उनको पक्षमा स्थायी कमिटी सदस्यहरु पम्फा भुसाल र देव गुरुङ समेत छन् । उनिहरु दुवै जना कार्यकारी अध्यक्ष प्रचण्डको पक्षमा छन् ।
भेलामा हितमान शाक्य, मनोज थापा, यशोधा सुवेदी, सूर्यप्रकाश सुवेदी, लेखनाथ न्यौपाने, सावित्रीकुमार काप्ले, अमृता थापा,श्रीराम ढकाल, मायाप्रसाद शर्मा, दिलिपकुमार प्रजापति,सुरेश आलेमगर, रामदीप आचार्य, महेश्वर दाहाल र युवराज भट्टराई सहभागी छन् ।