काठमाडौँ । बैंकबाट कर्जा प्राप्त गर्ने क्रममा शंकास्पद धितो प्रयोग गरी वित्तीय अनियमितता गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पाण्डेलाई पक्राउ गरेको जनाएको छ। उनीमाथि एक संस्थाको नाम प्रयोग गरी बैंकबाट ठूलो रकम कर्जा लिएको तथा त्यसका लागि प्रस्तुत गरिएका कागजात र धितोबारे अनुसन्धान भइरहेको छ।
अनुसन्धानका क्रममा पाण्डेले ‘इन्स्टिच्युट अफ एग्रिकल्चर फरेष्ट एन्ड भेटेरिनरी साइन्स’ नामक संस्थामार्फत प्रभु बैंक बाट करिब १३ करोड रुपैयाँ कर्जा लिएको खुलेको प्रहरीको दाबी छ। उक्त संस्थाको वैधानिकता, परियोजना विवरण तथा धितोका आधारबारे प्रश्न उठेपछि अनुसन्धान अघि बढाइएको बताइएको छ।
प्रहरी स्रोतका अनुसार लिइएको कर्जामध्ये अधिकांश रकम हालसम्म असुल हुन नसकेको र ऋण खराब कर्जाको सूचीमा परेको छ। करिब १२ करोड रुपैयाँ बराबरको दायित्व अझै बाँकी रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
सीआईबीले पाण्डेलाई जानकी मेडिकल कलेज परिसरबाट पक्राउ गरेको जनाएको छ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा यसअघि नै उच्च अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको थियो।
अनुसन्धान अधिकारीहरूले योजनाबद्ध रूपमा संस्थागत संरचना प्रयोग गरेर कर्जा लिइएको आशंका गरेका छन्। घटनामा बैंकका केही कर्मचारीको समेत सम्भावित संलग्नताबारे अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।