काठमाडौँ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ९ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका–७ घर भएका ४२ वर्षीय राजेश क्षेत्री, मकवानपुर बकैया गाउँपालिका-२ घर भएका ३८ वर्षीय तिर्थमान भोलन, नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएका ३९ वर्षीय गोवर्धन नेपाली, गोरखा पालुङटार नगरपालिका-६ घर भएका ३१ वर्षीय रोशन बाबु मल्ल, नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ४४ वर्षीय उपेन्द्र तामाङ, सुनसरी इटहरी उपमहानगरपालिका-१ घर भएका ४५ वर्षीय उज्वल थापा मगर, बर्दिया बढैयाताल गाउँपालिका-९ घर भएका ३२ वर्षीय प्रकाश सिंखडा, लमजुङ दुधपोखरी गाउँपालिका-५ घर भएका २३ वर्षीया ज्योति गुरुङ र पाल्पा पूर्वखोला गाउँपालिका-३ घर भएका ४५ वर्षीय राजिव न्यौपाने रहेका छन् ।
प्रहरीका अनुसार राजेशले मौरिसस र सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितहरूबाट १ करोड ४१ लाख ५१ हजार रुपैयाँ, तिर्थमान र गोवर्धनले सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितहरूबाट १ करोड ४१ लाख ५१ हजार रुपैयाँ, रोशनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ, उपेन्द्रले मौरिसर पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ, उज्वलले क्यानडा पठाइदिन्छ भन्दै १ जना पीडितबाट २ लाख ५७ हजार रुपैयाँ, प्रकाशले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रुपैयाँ, ज्योतिले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रुपैयाँ र राजीवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउमध्ये राजेश, तिर्थमान र गोवर्धनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ र रोशन, उपेन्द्र, उज्वल, प्रकाश, ज्योति र राजीवलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीको भनाई छ।