सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बस्दैछ।
विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बालुवाटारमा दिउँसो १ बजे बस्ने बताइएको छ । बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार ल्याएको विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश छलफलको प्रमुख विषय बन्नेछ ।
यसअघि आइतबार बसेको स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आफ्ना केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित भएको थियो।
आज बस्न लागेको स्थायी कमिटी बैठकलाई निकै चासोका साथ हेरिएको छ।
नेकपाको आजको बैठकमा सरकारले असंवैधानिक ढङ्गले ल्याएको संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धि संशोधन अध्यादेश र त्यसलाई प्रमाणित गर्ने राष्ट्पतिको भुमिकाको विषयमा समेत नेताहरुले प्रश्न उठाउने तयारी गरेका छन् ।