सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेर नयाँ अध्यादेशअनुसार बालुवाटारमा बैठक बसेपछि नेपाली कांग्रेसले बुधबारको लागि बैठक आव्हान गरेको छ ।
सरकारले मंगलबार अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको सचिवालयका बहुमत सदस्यहरुको भेलाले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यसबारे पार्टी कमिटीमा गम्भीर छलफल गर्ने निश्कर्ष निकालेको छ ।
त्यस्लगत्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेश जारी भएपछिको अवस्थाबारे छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारी सहितको शीर्ष नेताको बैठक बुधवार अपरान्ह बस्नेगरि बोलाएको कांग्रेस निकट स्रोतले जनाएको छ ।
बिहानको संवैधानिक परिषद् बैठकमा सहभागी हुन बालुवाटार पुगेको देउवा अध्यादेश जारी भएपछि साँझको बैठकमा भने बिरोध जनाउँदै सहभागी भएनन् ।
यसअगाडी देउवाले संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताएका थिए । उनी भनेका थिए “यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ । यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !”
मंगलबार साँझ सामाजिक संजाल ट्विटरमा एक ट्विटर गर्दै देउवाले आफ्नो धारणा राखेका हुन् ।
उपसभामुख पद खाली राखेर , सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ । यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ ।
यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !
— Sher Bahadur Deuba (@DeubaSherbdr) December 15, 2020