प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज साँझ बोलाइएको संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुने भएका छन् ।
विपक्षी दलको नेताको हैसियतामा संवैधानिक परिषद्को सदस्य रहेका देउवा आज बिहान बसेको परिषद्को बैठकमा सहभागि थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रोशित बनेको छ ।
कांग्रेसले यसलाई षड्यन्त्रका रूपमा लिएको छ ।
परिषद्का सदस्य रहेका सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि परिषद बैठक औपचारिक रुपमा बस्न सकेको थिएन ।
कांग्रेसले अध्यादेशबाट देश चलाउन खोज्नु प्रधानमन्त्रीको गल्ती भएको जनाएको छ । अध्यादेश जारी भएपछिको राजनीतिक अवस्थाबारे अहिले देउवाले निकट नेताहरुसंग परामर्श गरिरहेका छन् ।
सभापति देउवानिकट एक नेताले संवैधानिक परिषद्को गरिमा घटाउने गरी अध्यादेश ल्याइएको भन्दै सभापति देउवा उपस्थित नहुने जानकारी दिए ।
कांग्रेसले आज बैठक बस्नु अगाडि पनि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई अध्यादेश ल्याएको खण्डमा परिषद्को बैठकमा सहभागी नहुने जानकारी गराएका थिए ।