अफगानिस्तान। अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा आएको आकस्मिक बाढीका कारण महिला र बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यम टोलो न्युजका अनुसार बाढीले बघलानका विभिन्न जिल्लाहरूमा ठूलो क्षति पु¥याएको छ । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख हिदायतुल्लाह हमदर्दका अनुसार बाढीले १०० भन्दा बढी आवासीय घरहरू ध्वस्त बनाएको छ भने हजारौँ एकड कृषि भूमि जलमग्न भएको छ ।
यस प्राकृतिक विपत्तिले प्रान्तको पहिले नै कमजोर रहेको ग्रामीण अर्थतन्त्रमा गम्भीर धक्का पु¥याएको अधिकारीहरूले बताएका छन् । यसैगरी, अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा बुधबार राति आएको विनाशकारी हावाहुरीका कारण अन्य तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
पछिल्ला केही दिनदेखि अफगानिस्तानका विभिन्न भू–भागमा भारी वर्षा, हावाहुरी र चट्याङसहितको प्रतिकूल मौसम कायम छ । देशको मौसम विज्ञान विभागले आगामी दिनहरूमा पनि वर्षा जारी रहने पूर्वानुमान गर्दै जोखिमयुक्त क्षेत्रहरूमा थप बाढी आउन सक्ने भन्दै उच्च शतर्कता अपनाउन चेतावनी दिएको छ ।