स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् ।
बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न अभियोग मुद्दामा मङ्गलबार नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलले साधारण तारिखमा रिहा गर्न आदेश दिएलगत्तै शर्मालाई प्रहरीले पक्राउ गरेर काभ्रे पठाएको हो ।
मङ्सिर १८ गते ललितपुरबाट पक्राउ गरेर नुवाकोट ल्याइएको विप्लव समूहका नेता शर्माले मदानपुरको स्काभेक्टर आगजनीमा संलग्नताको ‘भरपर्दो प्रमाण नभएको’ भन्दै अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो ।
चितवनको रत्ननगरका शर्मालाई गत वैशाख २३ मा त्यहाँको प्रहरीले उपचारका क्रममा अस्पतालबाटै पक्राउ गरेको थियो ।
भदौ २३ गतेसम्म पुर्पक्षका लागि थुनामा रहेको समयमा भदौ ७ मा मदानपुरमा स्काभेक्टर आगजनीमा संलग्नता रहेको दाबी विश्वासिलो नभएको आधारमा शर्मालाई साधारण तारिखमा छाड्ने आदेश भएको थियो ।
साधारण तारिखमा छुटेलगत्तै अदालत परिसरबाटै पक्राउ परेका शर्मालाई गए राति नै काभ्रे पठाइएको नुवाकोट प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार शर्मालाई काभ्रेमा सङ्गठित अपराध, एनसेल टावर आगजनीलगायतको अभियोग छ ।
गत वैशाख २३ मा चितवनबाट पक्राउ परेका शर्मा भदौ २३ मा त्यहाँबाट छुटेलगत्तै पक्राउ गरेर धनुषा, सुनसरी, भोजपुर, सङ्खुवासभा, मोरङ, काठमाडौँ, ललितपुर हुँदै नवौँ जिल्लाको रूपमा नुवाकोट ल्याइएको थियो ।
सरकारले विप्लव समूहमाथि २८ फागुनमा ०७५ मा प्रतिबन्ध लगाउँदै समूहका कार्यकर्तालाई जहाँ भेट्यो, त्यहीँ पक्राउ गर्न आदेश दिएको थियो । सरकारी आदेश अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालले समूहविरुद्ध आक्रामक अपरेशन चलायो ।
तर, नीतिगत अस्पष्टताका कारण प्रहरीले समातेका अधिकांश नेता, कार्यकर्ता छुटिसकेका छन् भने एउटै व्यक्ति १० पटकसम्म पक्राउ परेर छुटिसकेका छन् ।
प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार प्रतिबन्ध लगाएयता मंसिर पहिलो सातासम्म एक हजार ९ सय ४७ जना पक्राउ परेका छन् । तीमध्ये अधिकांश १ हजार ६ सय ७८ जना छुटेका छन्, १४३ जनालाई मात्रै अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।