नेकपा नेता तथा पूर्व रक्षामन्त्री एवं वर्तमान उप-प्रधानमन्त्री ईश्वर पोखरेललाई अर्को जिम्मेवारी दिइएको छ । पोखरेलले राष्ट्रिय गौरवका आयोजनाको समन्वय गर्ने जिम्मा पाएका हुन्।प्रधानमन्त्री ओलीले पोखरेललाई हिजो (मंगलबार) औपचारिक रुपमा जिम्मेवारी दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुष्टि गरेको छ।
केही हप्ता अगाडि प्रधानमन्त्री तया नेकपा अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गर्दा उनको रक्षा मन्त्रालय खोसेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारेका थिए ।
राष्ट्रिय गौरवका आयोजनाको काम गर्दा आइपरेका विभिन्न राजनैतिक समस्याको समाधान अबदेखि पोखरेलले गर्ने छन्। जिम्मेवारी पाएलगत्तै पोखरेलले राष्ट्रिय गौरवका आयोजनामध्ये केही सडक आयोजनाको प्रगति र अवरोधबारे छलफल गरेका थिए।
छलफलमा पोखरेलका साथै भौतिक योजना तथा निर्माणमन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र सम्बन्धित आयोजना प्रमुखहरूको उपस्थिति थियो।
मंगलबारको छलफलमा हुलाकी राजमार्ग, कोशी करिडोर, गण्डकी करिडोर र कर्णाली करिडोरमा भएको प्रगतिका साथै समस्याको बारेमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. तीर्थ ढकालले बताए ।