प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच तीन दिनअघि बालुवाटारमा भएको भेटघाटको चर्चा सेलाएको छैन ।
ओली देउवा भेटले सत्ता र प्रतिपक्ष दुबै दलमा बहस चर्किएको छ ।
सत्ता साझेदारका विषयमा समेत छलफल भएको बाहिरिएपछि बहस थप पेचिलो बनेको हो । कांग्रेसकै नेताहरुले यसको विरोध गरेका छन् ।
कांग्रेसले पाँच वर्ष प्रतिपक्षमा बस्ने जनमत पाएको भन्दै सरकारमा जानेबारे सोच्न समेत नसकिने कांग्रेस नेताहरुको ठहर छ । यस विषयमा पार्टीका प्रवक्तादेखि वरिष्ठ नेतासम्मले समान धारणा राखेका छन् ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भएको भेटघाटले सत्ता राजनीतिमा कुनै अर्थ नराख्ने बताएका छन् सिंहले जनताले कांग्रेसलाई प्रतिपक्षीमा बस्ने भूमिका देखिएकाले निर्वाचनसम्म जनमतको कदर गर्ने दाबी गरेका हुन् ।
यस्तै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको भेटलाई सामान्य कुरा भन्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेस अहिले सत्ता साझेदार नबन्ने बताएका छन् ।
ओली र देउवाको भेटमा सत्ता साझेदारीका लागि छलफल भएको भन्ने कुरा गतल भएको भन्दै उनले यसलाई धेरै व्याख्या गर्नुपर्ने आवश्यकता नरहेको बताए ।
स्वयं प्रधानमन्त्रीकै स्पष्टोक्ति
भेटबारे आधिकारिक रुपमा कसैले पनि जानकारी दिएका छैनन् । तर सञ्चार माध्यममा दुबै स्रोतबाट आएका समाचारविपरित प्रधानमन्त्री ओलीले सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलील वर्तमान सरकारको लोकप्रियता देखेर आत्तिएका मानिसले सरकार परिवर्तन हुँदैछ भनेर भ्रम छरेको बताएका छन् ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेले पुगेर ओलीले भ्रममा नपर्न आग्रह गर्दै कुनै पनि हालतमा आफू नेतृत्वको सरकार परिवर्तन नहुने बताए ।
देशको प्रगतिबाट आत्तिएकाले मात्र आफ्नो राजीनामा मागेको भन्दै ओलीले सरकारले काम गरेन भन्नेहरूलाई ‘काम नभएका र अस्थिरता चाहने झुण्ड’ को संज्ञा दिए ।
‘लोकप्रिय काम गर्ने सरकार रह्यो भने आफ्नो अस्तित्व समाप्त हुन्छ भन्ने पिरले सरकार चलाइरहेको पार्टीभित्र कहिले अध्यक्षविरुद्ध, कहिले प्रधानमन्त्रीविरुद्ध, कहिले लिखित त कहिले छापेर सरकार ढलिहाल्छ भनेर प्रचार गरेको पाइन्छ ,।’
सत्ता साझेदारीको कुरा किन आयो ?
प्रधानमन्त्री ओली स्वयंले सरकार परिवर्तन नहुने स्पष्ट पारिरहँदा देउवासँगको सत्ता साझेदारको प्रस्तावमा थप शंका उत्पन्न भएको छ ।
नेकपासँग सुविधायुक्त बुहमत छ । प्रधानमन्त्री ओलीले आफ्नो पार्टी फुटिहाल्यो भने देउवासँग सत्ता साझेदारी गर्न प्रस्ताव गरेको हुन सक्ने आशंका नेकपाभित्रै कतिपयले गरिरहेका छन् ।
काँग्रेस वृत्तमा भने नेकपा विवादमा ओलीलाई साथ दिएर संवैधानिक नियुक्तिहरूमा देउवाले ठूलो हिस्सा लिन खोजेको आशंका छ ।
यसअघि संकटमा ओलीलाई ढाडस दिएर देउवाले आफ्नो दुनो सोझ्याउने गरेको आरोप काँग्रेसभित्रैबाट लाग्दै आएको छ ।
नेकपाभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री तथा अध्यक्ष ओलीको निकटता प्रमुख प्रतिपक्ष काँग्रेसका सभापति शेरबहादुर देउवासँग बढ्ने गरेको छ ।
यसको उदाहरण मंसिर ६ गतेको ओली देउवाबीचको भेटवार्तालाई पनि लिन सकिन्छ । यो मात्रै होइन गत असारमा जतिवेला नेकपा विवाद बढ्दै गएको थियो । त्यस बेलापनि ओलीले देउवा सँग गोप्य भेटवार्ता गरेका थिए ।
कतिपयले यसलाई ओलीको ‘स्टन्ट’को रुपमा अथ्र्याउँछन् । पार्टीमा आफू अनुकूल निर्णग गराउन वा आफूलाई दबाब दिइरहेका नेताहरुलाई तर्साउन ओलीले यस्ता ‘स्टन्ट’ गर्ने गरेका हुनसक्ने उनीहरुको ठहर छ । यो ओलीको वरकालाई तर्साउने परकासँग गरिएको साँठगाँठका रुपमा पनि हेर्न सकिन्छ ।
गत कात्तिक २८ गते बसेको सचिवालयको बैठकमा प्रचण्डले १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए । त्यसमा ओलीको कार्यशैलीको प्रशस्तै आलोचना गरिएको छ ।
मंसिर ३ गतेको सचिवालय बैठकमा ओलीले प्रचण्डको आरोपको खण्डन गरेर आफूले पनि प्रस्ताव ल्याउन १० दिनको समय मागेका थिए ।
सोही अनुसार अर्को बैठक मंसिर १३ गतेका लागि तोकिएको छ।