काठमाडौँ – राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रणालीमा आएको प्राविधिक गडबडीका कारण सेवा प्रवाह आंशिक रूपमा प्रभावित भएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार २१ वैशाखदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समस्या देखिएपछि विभिन्न सेवा सञ्चालनमा अवरोध आएको हो। हाल प्रणालीको मर्मत कार्य जारी रहेको र समस्या समाधान नहुँदासम्म केही सेवा प्रभावित रहने विभागले जनाएको छ।
विभागद्वारा बुधबार जारी सूचनामा उल्लेख भएअनुसार नयाँ दर्ता गर्दा प्राप्त हुने राष्ट्रिय परिचयपत्र नम्बर प्रणालीले प्रमाणीकरण गर्न नसक्ने अवस्था सिर्जना भएको छ। सो कारण इनरोलमेन्टसम्बन्धी भ्यालिडेसन सेवा अस्थायी रूपमा बन्द भएको हो।
त्यसैगरी राष्ट्रिय परिचयपत्र विवरण संशोधन गर्ने प्रक्रिया, जन्मदर्ताका क्रममा एनआईएन उत्पन्न हुने सेवा, सामाजिक सुरक्षा भत्ता नवीकरणका बेला हुने बायोमेट्रिक प्रमाणीकरण तथा एनआईडीएमआईएससँग अन्तरआबद्ध अन्य सार्वजनिक सेवा समेत प्रभावित भएका छन्।
यद्यपि पहिले नै परिचयपत्र प्राप्त गरी प्रणालीमा प्रमाणीकरण भइसकेका सेवाग्राहीका लागि भने सम्बन्धित सेवा सञ्चालनमा रहेको विभागले स्पष्ट पारेको छ।
