झापा – झापाको बिर्तामोडमा भएको भीषण आगलागीबाट करिब छ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। आगलागीमा इलेक्ट्रोनिक्स पसल, फार्मेसीसहित दुईतले पक्की घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
बिर्तामोड नगरपालिका–४ स्थित सिद्धार्थ होटलनजिकै रहेको राजेश मण्डलको घरमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार घरको दोस्रो तलामा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीबाट शुभलाभ इलेक्ट्रोनिक्स पसल तथा गोदाममा करिब तीन करोड रुपैयाँ, निरिका फार्मेसी तथा गोदाममा एक करोड रुपैयाँ र घरधनी मण्डलको घरमा दुई करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
आगो आसपासका घरमा समेत फैलिएको थियो। आगलागी नियन्त्रणका लागि बिर्तामोड, भद्रपुर, मेचीनगर, दमक, कमल, शिवसताक्षी र गौरादहका सातवटा दमकल परिचालन गरिएको थियो।
आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीसमेत खटिएका थिए। घण्टौँको प्रयासपछि आगलागी नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।