काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारको धनतेरसलाई लक्षित गर्दै बिहीबारदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ ।
राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागबाट सिक्का बिक्री सुरु गरिएको हो । धनतेरसमा सुनका असर्फीको माग बढी हुने भएकाले सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार सर्वसाधारणले प्रतिव्यक्ति साढे २, ५ र १० ग्रामका एक–एक थान असर्फी खरिद गर्न सक्नेछन् । असर्फीको मूल्य प्रचलित बजार मूल्यमा निर्माण लागत जोडेर निर्धारण गरिनेछ । व्यक्तिगत खरिदकर्ताका लागि सुनको बजार मूल्यमा प्रतिग्राम २०० रुपैयाँ र संस्थागत खरिदकर्ताका लागि ३०० रुपैयाँ थप गरी दैनिक मूल्य तय गरिने राष्ट्र बैंकले जनाएको छ ।
धनतेरसका अवसरमा सुन तथा चाँदीका सिक्का खरिद गर्न टक्सार विभागमा बिहानैदेखि सर्वसाधारणको बाक्लो भीड लागेको छ । सिक्का खरिदका लागि उनीहरू लामो समय लाइनमा बसेका छन् ।
धनतेरसमा सुनचाँदीका सामग्री तथा सिक्का खरिद गर्नुलाई शुभ र समृद्धिको प्रतीक मान्ने धार्मिक तथा सांस्कृतिक मान्यता छ ।