काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित पदाधिकारीहरूको अनौपचारिक बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा काठमाडौँ उपत्यकामा उपलब्ध पदाधिकारीहरू सहभागी हुनेछन् । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए ।
उपसभापति मधु आचार्यले भने बैठकमा पदाधिकारीहरूको कार्यविभाजनसँगै समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुने जानकारी दिएका छन् ।
गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भए पनि पदाधिकारीहरूको जिम्मेवारी बाँडफाँट हुन सकेको छैन । सोही विषयलाई टुङ्गोमा पुर्याउन नेताहरूबीच छलफल हुन लागेको हो ।