मोटर उत्पादक कम्पनी मारुती सुजुकीले बजारमा उपलब्धमध्ये सबैभन्दा कम मूल्यको विद्युतीय (ईलेक्ट्रिक) कार ल्याउने भएको छ ।
सन् २०२१ देखि भारतीय बजारमा बिक्री शुरु गर्ने भनिएको नयाँ कारको मूल्य भारतीय रुपैयाँ ७ लाखभन्दा कम हुने छ । मारुती सुजुकीले अहिले आफ्नो ईलेक्ट्रिक कारको परीक्षण तीब्र बनाएको छ । कम्पनीका अनुसार अहिले उक्त कार वागेनआरको प्लेटफर्मममा तयार भइरहेको छ ।
भारतीय बजारमा चल्तीमा रहेका विद्युतीय कारभन्दा सबैभन्दा सस्तो हुने भनिएको यो कार मारुती सुजुकीको पहिलो विद्युतीय कार हुने छ ।
आफ्नो पहिलो विद्युतीय कारको बारेमा बोल्दै मारुती सुजुकी इन्डियाका चेयरम्यान आसरी भार्गबले भने, ‘कम मूल्य, सहज ब्याट्री टेक्नोलोजी अहिले भारतीय बजारको आवश्यकता हो । हाम्रो प्राथमिकता पनि यही हो । त्यसैले ग्राहकले कम मूल्यमै उत्कृष्ट विद्युतीय कार पाउनेछन् ।’
कम्पनीले २ वर्ष अगाडि ५२ युनिट प्रोटोटाइप तयार गरेर विभिन्न फरक–फरक तापक्रम तथा भू–वनोट भएको स्थानमा परीक्षण गरिरहेको थियो । अहिले भने प्रोडक्सन मोडलको परीक्षण शुरु गरिएको मारुती सुजुकी इन्डियाले जानकारी दिएको छ ।
कम्पनीले आफ्नो गुरुग्राममा रहेको प्लान्टमा यो कारको उत्पादन गर्ने जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अहिले गुरुग्रामको आसपास क्षेत्रमा नै यो कारको परीक्षण चलिरहेको छ ।
सन् २०२१ देखि बजारमा बिक्री शुरु गरिने भनिए पनि कम्पनीले विद्युतीय कारमा प्रयोग भएको ब्याट्री, मोटर, रेञ्ज, पावर लगायत विषयमा भने जानकारी सार्वजनिक गरेको छैन ।