एजेन्सी । गाजामा शुक्रबार भएको इजरायली आक्रमणमा ६ प्रहरीसहित १२ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले जनाएका छन्।
स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार उत्तरी गाजाको बेइत लाहिया सहरस्थित कमल अदवान अस्पताल नजिकका आवासीय घरहरूलाई लक्षित गर्दै इजरायली तोपखानाले गोलाबारी गरेको थियो। आक्रमणपछि क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ।
चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) का स्ट्रिङरद्वारा सार्वजनिक गरिएको भिडियोमा एक आमाले प्रहरी रहेका आफ्ना छोरालाई अन्तिम बिदाइ गर्दै विलाप गरिरहेको दृश्य देखिन्छ। भिडियोमा अन्य पीडितहरूको शव जमिनमा राखिएको तथा स्थानीयवासीहरू शोकमा डुबेको देखिन्छ।
हमास र इजरायलबीच अक्टोबर १०, २०२५ देखि जारी तनाव तथा युद्धविराम सम्झौता उल्लङ्घनका घटनाबीच पछिल्लो आक्रमण भएको हो।
गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार युद्धविराम लागू भएयता हालसम्म ७९१ प्यालेस्टिनी मारिएका छन् भने २,२३५ जना घाइते भएका छन्।