सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङ पर्दा १४ पशुचौपायाको मृत्यु भएको छ भने एक जना स्थानीय घाइते भएका छन्।
शनिबार राति करिब ११ः३० बजे परेको चट्याङबाट स्थानीय ६० वर्षीय सिताराम यादव घाइते भएको प्रहरीले जनाएको छ। उनको टाउकोसहित शरीरका विभिन्न भाग जलेको बताइएको छ। घाइते यादवलाई तत्काल उपचारका लागि रौतहटस्थित तराई अस्पताल लगिएको छ। हाल उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे आइतबार बिहान करिब ३ बजे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। चट्याङपछि आगलागी हुँदा यादवको घरगोठमा रहेका पशुचौपाया, अन्नपात तथा लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनामा ९ वटा बाख्रा र ५ वटा भैँसी मरेका छन् भने एउटा पाडा घाइते भएको छ।
त्यसैगरी, घरमा राखिएको करिब १ क्विन्टल चामल, १० क्विन्टल धान, २ क्विन्टल गहुँ, १ क्विन्टल मुसुरो दाल, भाँडाकुँडा तथा लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।