यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र छपाइ गरेको छ ।
विगतमा झण्डै आठ-नौ लाखसम्म पनि अनुमतिपत्र बाँकी रहेकामा अहिले त्यो सकिँदै गएको विभागले जनाएको छ । पहिले वर्षौंसम्म सेवाग्राहीले अनुमतिपत्र नपाउने गरेकामा अहिले त्यो अवस्था पूरै हटिसकेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए ।
उनका अनुसार पछिल्लो तीन-चार महिनामा आएका अनुमतिपत्र मात्रै छाप्न बाँकी छ । छापिएका सबै अनुमतिपत्र सम्बन्धित कार्यालयमा पठाइसकिएको उनले बताए । सेवाग्राहीले नयाँ वा नवीकरण गरिएका अनुमतिपत्र सम्बन्धित कार्यालयमा पुगेर लिन सक्छन् ।
निषेधाज्ञाका समयमा यातायात व्यवस्था कार्यालयबाट आएका झण्डै एक लाख अनुमतिपत्र छाप्न बाँकी रहेको छ । अहिले आवश्यकतानुसार ‘मास प्रिन्टर’ बाट अनुमतिपत्र छपाइ भइरहेको छ ।
पहिले जसरी अब वर्षौँसम्म कुर्नुपर्ने अवस्था आउँदैन । आवेदन दिएको तीन-चार महिनामा अनुमतिपत्र पाउन सक्ने गरी तयारी गरेको प्रवक्ता भुसालले बताए ।
सरकारले झण्डै पाँच वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र दिन शुरु गरेको थियो । सेवाग्राहीले आवेदन दिएको लामो समयसम्म पनि अनुमतिपत्र पाएका थिएनन् । सुरुमा पाइलट प्रोजेक्टका रुपमा एक वा दुई जिल्लामा सुरु गरेर त्यसपछि अरु जिल्लामा सुरु गर्नुपर्ने विनातयारी सबै स्मार्ट गर्ने भनेपछि सेवाग्राहीहरु ५ वर्षसम्म पनि एउटा रातो कागजको भरमा सवारी साधनहरु चलाउनुपर्ने बाध्यता थियो ।