विशेष विमानबाट काठमाडौं ओर्लेका भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले नेपालमा गोप्य भेटघाटलाई तिब्रता दिएका छन्। गोयलको टोली नेपाल आएर प्रधानमन्त्री र उच्च नेताहरुसँग गोप्य भेटघाटमा व्यस्त छ। उनीहरु आज मात्र फर्किने कार्यक्रम छ।
गोयलले बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेको स्रोत बताउँछ। काठमाडौं बसाइमा उनले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपाललगायतलाई समेत गोप्य रुपमा भेटेका छन्। तर भेटघघाट बारे आधिकारिक रुपमा कसैले पनि जानकारी दिएका छैनन्।
दिउँसो करिब साढे ४ बजे गोयलले सोल्टी होटल पछाडिको एउटा घरमा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड र वरिष्ठ नेता तथा अर्का पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग गोप्य भेटवार्ता गरेको सुरक्षा स्रोतहरूले पुष्टि गरेका छन्।
सुरक्षा स्रोतहरूका अनुसार माधव नेपालसँग पनि गोयलले सोल्टी पछाडिको त्यही घरमा भेटका हुन्।
प्रचण्ड र माधव नेपालको सचिवालयका सदस्यले भने गोयलसँग भएको भेटघाटबारे पुष्टि गर्न चाहेनन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग २ घण्टा भेटवार्ता गरेका छन् ।
नेपाल सरकारका कुनै पनि निकायले गोयलको आकस्मिक नेपाल भ्रमणबारे औपचारिक जानकारी दिएका छैनन्। कार्तिक १८ गतेदेखि हुने तय भएको भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणको तयारीको क्रममा गोयल नेपाल आएको अनुमान गरिए पनि केही सुरक्षा विश्लेषकहरूले त्यसलाई अस्वीकार गरेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफुलाई गोयलको भ्रमण र काठमाडौंमा उनले गर्ने भेटवार्ताहरूबारे खासै जानकारी नभएको बताए।
राष्ट्रिय अनुसन्धान विभागका अर्का एक अधिकारीले प्रचण्ड र नेपालसँग भेटेपछि गोयल होटल हायात गएको र त्यहाँ नेपाली कांग्रेसका नेताहरू, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसहित जनता समाजवादी पार्टीका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेको बताए।
सुरक्षा स्रोतहरूका अनुसार गोयलको भेटघाटको सूचीमा प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र शशांक कोइराला, जसपाका नेता भट्टराई र महन्थ ठाकुर लगायत थिए।
होटल हायातका अर्का एक कर्मचारीले उक्त होटलमा नेताहरूसहित नेपाली सेना र नेपाल प्रहरीका प्रमुख तथा अन्य उच्च सुरक्षा अहिकारीहरूसँग गोयलले रात्रीभोजसहित भेटवार्ता गरेको जनाए।
गुप्तचर संस्थाको प्रमुख विमान चार्टर्ड गरेर नेपालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई भेट्न आएको विषयलाई कूटनीतिज्ञहरूले एउटा सार्वभौम देशको दुर्भाग्य भनेका छन्।
जब कि लिपुलेक, कालापानी र लिम्पियाधुराको नेपाली भूमि नेपाली नक्सामा समेटिएको छ, तर त्यो क्षेत्रमा अहिले पनि भारतीय फौज छ। यस्तो विषयमा देश र संसद्को सर्वसम्मत समर्थन पाएको सरकारले भारतीय गुप्तचर संस्थाका प्रमुख बोलाएर प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीसँग वार्ताको वातावरण बनाउनु बिडम्बनाको विषय हो।
उनी रअका एक कर्मचारी हुन्। उनको नेपाल भ्रमणलाई सामान्य रुपमा पनि लिन सकिन्छ। तर रअको एक कर्मचारी भेट्न नेपालमा उच्च तहका नेताहरुको भेटघाटलाई भने अर्थपूर्ण रुपमा हेर्न सकिन्छ। अथृपूर्ण यस अर्थमा पनि कि उनीसँग भेटेकोबोरे कसैले आधिकारिक रुपमा पुष्टि गर्दैनन्। भेटेकोबारे जानकारी दिदैनन्। यसले थप आशंका उत्पन्न अवश्य गराउँछ।
सामन्त गोयलको काठमाडौं भ्रमणलाई नेपालका राजनीतिक दलहरुले ‘गुपचुप’ राख्न खोज्दा यसले ‘र्युमर’ को रुप लिएको छ । थप आशंका उब्ब्जाएको छ। भारतले नेपालमा माइक्रो म्यानेजमेन्ट गर्दै आएको आरोप समेत लाग्दै आएको छ। केही समयदेखि नेकपामा सरकार परिवर्तनको कुरा चल्यो। त्यो मथ्थर भए पनि विवाद कायमै छ। उनको गोप्य भेटघाट यसैमा केही असर गर्न सक्ने आँकलन समेत गरिन्छ।
को हुन् गोयल ?
गोयल भारतीय गुप्तचर संस्था रअको चीफ हुन्। उनी गत वर्षको असारमा मात्रै आइपीएस अफिसरबाट रअको प्रमुख बनेका हुन् ।
यसअघि आइपीएस अफिसर रहेका गोयल पाकिस्तानको बालाकोटमा आतंकवादी शिविरमाथि भएको हवाइ हमलाका योजनाकार मानिन्छन् । जून २६ मा भारतीय प्रधानमन्त्री मोदीबाट रअको चीफ बनाइएका उनी सन् २०१६ को सर्जिकल स्ट्राइकका योजनाकार मानिन्छन् ।