काठमाडौँ – सार्वजनिक लेखा समितिका नवनिर्वाचित सभापति भरत खड्काले जिम्मेवारीलाई जवाफदेही र पारदर्शी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पदभार ग्रहणको घोषणा पछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतका अनुभव र विज्ञताका आधारमा आर्थिक सुशासन र वित्तीय अनुशासन सुदृढ गर्ने लक्ष्य लिएको स्पष्ट पारेका छन् ।
उनका अनुसार मुलुकको वर्तमान आवश्यकता आर्थिक अनुशासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु हो, जसबिना विकास र सुशासन दुवै सम्भव नहुने अवस्था रहन्छ । आर्थिक व्यवस्थापनको स्तरले नै देशको समग्र विकासको गति निर्धारण गर्ने उनले धारणा राखेका छन् ।
सभापति खड्काले संघीय संरचनादेखि स्थानीय तहसम्म सबै निकायमा वित्तीय अनुशासनलाई कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता औँल्याए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता निकाय वा लेखा समितिको नाममा देखाइने ढिलासुस्ती अब स्वीकार्य नहुने बताए ।
संविधान तथा प्रचलित कानुनको दायराभित्र रहेर सबै मन्त्रालय, विभाग तथा सार्वजनिक निकायले समयमै काम सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए । बहाना बनाएर काम ढिलाइ गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उल्लेख गर्दै अब यस्तो अभ्यासलाई निरन्तरता दिन नदिइने उनको भनाइ थियो ।
उनले सेवा प्रवाहमा कुनै पनि प्रकारको ढिलासुस्ती वा लापरबाही सह्य नहुने बताउँदै सार्वजनिक निकायहरूलाई जिम्मेवार र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याए ।
वर्तमान प्रशासनिक र सामाजिक परिवेशलाई ध्यानमा राख्दै राज्य व्यवस्थापन प्रभावकारी बनाउन नसकिए समितिको औचित्यमाथि प्रश्न उठ्ने खतरा रहने उनको भनाइ थियो । उनले आफ्नो नेतृत्वमा सार्वजनिक लेखा समिति लाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।