काठमाडौँ । नेपालले चीनसँग सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सहकार्यको प्रस्ताव गरेको छ ।
गृहमन्त्री सुधन गुरुङसँग शिष्टाचार भेटका लागि पुगेका नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग गृहमन्त्रीले उक्त प्रस्ताव गरेका हुन् ।
त्यसक्रममा राजदूत माओमिङले सीमा अपराध रोकथाम गर्ने नेपालको प्रस्तावप्रति चीन सरकार सकारात्मक रहेको बताए । उनले नेपालका सुरक्षा निकायको क्षमता विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
सिंहदरबारमा आज भएको भेटमा गृहमन्त्री गुरुङले नेपालमा चिनियाँ सहयोगमा सञ्चालित आयोजना समयमै सम्पन्न गर्नेतर्फ भूमिका निर्वाह गर्न आग्रह गरे । उनले नेपाल-चीन जोड्ने अन्तरदेशीय रेलमार्ग निर्माण र दुई देशबीच व्यापार सहजीकरणको लागि अनुरोध गरे गृहमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
त्यसक्रममा गृहमन्त्री गुरुङले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने स्पष्ट पारेका छन् ।