काठमाडौं- हवाई इन्धन मूल्य बढेसँगै पछिल्लो समय आन्तरिक उडानका यात्रुको संख्या घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार अप्रिल १ अर्थात् चैत १८ पछि आन्तरिक उडानका यात्रुको संख्या घटेको हो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हवाई भाडा बढेसँगै आन्तरिक उडानका यात्रुहरु दैनिक करिब ४ हजारको तुलनामा घटिरहेको जानकारी दिए। सामान्यतया यो सिजनामा दैनिक १२ हजार जति यात्रुहरुले उडान सुविधा लिने गरेका थिए। तर, चैत १८ पछि यात्रुको संख्या घटेर करिब ७ देखि ८ हजार यात्रुले उडान गर्ने गरेको उनले जानकारी दिए।
अत्यावश्यकबाहेकका यात्रुले सकभर गाडीकै यात्रामा गर्न थालेपछि हवाई यात्रुको संख्या घटेको हुन सक्ने अनुमान प्राधिकरणको छ। यसरी यात्रु संख्या घट्दा एयरलाइन्सलाई मात्र हैन प्राधिकरणलाई समेत प्रत्यक्ष रुपमा असर पुगेको छ।
आन्तरिक उडानमा यात्रा गर्ने यात्रुले प्रतिटिकट न्यूनतम २ सय रुपैयाँ प्राधिकरणको आम्दीको रुपमा जाने गरेको थियो। यसरी हेर्दा प्राधिकरणलाई मात्र टिकटबाट दैनिक ८ लाख बढी नोक्सानी भइरहेको छ। अर्कोतर्फ विमानस्थलले लिने पार्किङ र ल्याण्डीङ चार्जसमेत घटेको छ।
यती एयरलाइन्सका एकाउन्टेबल म्यानेजर युवराज विष्टले पर्यटकीय सिजनकै बेला मध्यपूर्वमा भएको तनावले विदेशी पर्यटकहरु पर्याप्त नआएको र आन्तरिक यात्रुको पनि संख्या घट्दा उडानमा १२ प्रतिशतभन्दा बढी कटौती भएको जानकारी दिए। कोभिड १९ कै अवस्थामा एयरलाइन्स पुग्न थालेको बताउँदै सरकारका तर्फबाट आवश्यक सहुलियत नदिए समस्याग्रस्त हुन थालेको उनको भनाइ छ।
यात्रुको संख्या गत वर्ष (२०२५ को अप्रिलमा) १ लाख ३७ हजार ८५२ जना यात्रुले उडान भरेकामा सोही समय अहिले १ लाख १२ हजार ४९१ जनाले यात्रा गरेका छन्। यो भनेको गत वर्षको सोही समयको तुलनामा २५ हजार ३६१ अर्थात १८ प्रतिशतले यात्रु घटेको हो।
हवाई इन्धनको मूल्य बढ्दा यात्रुको संख्या घटेर एयरलाइन्स कम्पनी नोक्सानीमा गइरहेको बेला सरकारले प्राधिकरणमार्फत विमानस्थलमा लिने विभिन्न करमा छुट दिन आवश्यक रहेको उनको भनाइ छ। अहिले विमानस्थलमा पार्किङ र ल्यान्डिङमा लिँदै आएको शुल्क घटाएर इन्धनको मूल्य घटेपछि पूर्ण रुपमा लिने व्यवस्था सरकारले गर्न सके सहज हुने उनले बताए।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले हवाई इन्धनको मूल्य बढेसँगै यात्रुको संख्या घट्दा केही उडान मर्ज गरिरहेको जानकारी दिए। ‘गन्तव्यअनुसार उडानलाई मर्ज गरेर यात्रुलाई सेवा दिइरहेका छौं,’ सूचना अधिकारी कर्णले भने, ‘उडान कटौती भन्दापनि मर्ज गरेर उडान गरिरहेका छौं।’
श्री एयरलाइन्सका बजार प्रमुख अनिल मानन्धरले पनि यात्रु संख्या घटेसँगै केही उडान कटौती गरेको जानकारी दिए। ‘उडान संख्या घटाए पनि यात्रुलाई कुनै समस्या दिएका छैनौं। पहिलाको तुलनामा घटेकाले एकै उडानमा मिलाएर उडान गरिरहेका छौं’, बजार प्रमुख मानन्धरले भने, ‘एयरलाइन्स अहिले समस्यामा परिरहेको बेला सरकारले लिने केही करमा छुट दिए सहज हुन्छ।’
नेपाल आयल निगमले चैत १८ देखि लागू हुने गरी आन्तरिक उडानमा रहने एयरलाइन्सका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँले बढाएको छ। इन्धनको मूल्य बढेसँगै ५ हजार ४८० रुपैयाँसम्म हवाई भाडाको मूल्य बढेको छ।