सरकारसँग ८ बुँदे सहमति भएपछि डाक्टर गोविन्द केसीले आइतबार बिहान अनसन तोडेका छन्।
डाक्टर गोविन्द केसी र सरकारबीच आठबुँदे सहमति भएको छ। यो सहमतिसँगै डा. केसीले २८ दिनदेखिको आमरण अनसन आइतबार अन्त्य गरेका छन्।
शिक्षण अस्पताल महाराजगन्जमा शनिबार मध्यरात डाक्टर केसी र सरकारी वार्ता टोलीबीच सहमतिमा हस्ताक्षर भएको हो।
सहमतिको पहिलो बुँदा सरकारी मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाबारे छ।
सहमतिअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक भौतिक पूर्वाधार तथा जनशक्ति प्रबन्ध गरी आउँदो शैक्षिक सत्रदेखि एमबिबिएस लगायत शैक्षिक कार्यक्रम सञ्चालन गरिनेछ।
सुदूर पश्चिम प्रदेशको गेटामा सरकारी मेडिकल कलेज स्थापना गर्ने पनि सहमति भएको छ।
भदौं २९ गते जुम्लाको चन्दननाथ नगरपालिका-६ रानिचौरमा रहेको बाविरा मन्दिरमा १९औँ सत्याग्रहको सुरुवात गरेका थिए ।
भदौं २९ देखि अनशनमा रहेका केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि असोज ६ गते उपचारका लागि काठमाडौं ल्याइएको थियो ।