गत हप्ता महानगरीय प्रहरी अपराध महाशाखा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको संयुक्त अप्रेशनले ठूलो परिणाममा मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड हुने खालका खाद्यबस्तु बरामद गर्यो। म्याद सकिएका चकलेट, विस्कुट लगायतका सामानमा नयाँ लेवल लगाएको भेटियो।
म्याद गुज्रेका खाद्यवस्तु रि–लेबलिङ गरेर बेची मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको अनुगमनका क्रममा पाइयो।
प्रहरीले कंलकी र बाफल क्षेत्रबाट म्याद नाघेमा सामानमा रिलेवलिङ गरेको भेटेको थियो। ओरियो विस्कुट, स्नीकर्स, बन भिटा, प्रिङगल्स र युनिलिभर कम्पनीका उत्पादनसमेतमा पुनः लेवलिङ गरेको भेटिएको थियो। म्याद सकिएका सामानमा पुनः अर्को स्टिकर टाँसेर बजारमा पठाउनेमा संलग्न ८ जनालाई प्रहरीले पक्राउसमेत गरेको थियो।
म्याद नाघेको वस्तु उपभोग गर्दा विभिन्न प्रकारका रोग लाग्नुका साथै कलेजोमा पनि असर पुग्ने चिकित्सक बताउँछन्। मानव स्वास्थ्यमा असर पर्ने खाद्यवस्तु उत्पादन तथा बिक्री गर्नेलाई विदेशी मुलुकमा कडा कारबाही भए पनि नेपालमा सामान्य नसिहत दिएर छोड्दा यस्ता गतिविधिमा संलग्नको मनोबल बढेको देखिन्छ।
सरकारी निकायले हरेक वर्ष चाडपर्वको बेला बजार तताउँछन्। छड्के अनुगमनमा निसिकन्छन्। केहीलाई कारबाही पनि गर्छन्। तर कर्मकाण्डी अनुगमनले व्यापारीलाई तर्साउने काम मात्रै गरेको छ। बजारको अवस्था उस्तै छ। एक दिन एउटा क्षेत्रमा अनुगमन गरेर व्यापारीहरुको चेत खुल्ने अवस्था छैन। अब चेत खुल्नुपर्ने स्वयं उपभोक्ताकै हो। सचेत हुनुपर्ने पनि आफैले हो।
पछिल्लो समय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तिब्रता दिएको छ। अन्य क्षेत्रबाट पनि अखाद्य बस्तु बरामद भइरहेका छन्।
खासमा यो समय बजार अनुगमनकै हो। हरेक वर्ष विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई तिब्रता दिँदै आएको छ।
चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले यो बेला विभागले सक्रियता बढाउँछ।
त्यस्तै विषयत विभागहरू खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र मुलकभरका सबै जिल्ला प्रशासन कार्यलय समेत यो बेला अनुगमनमा तातिन्छन्।
कोरोना महाममारीमा पनि सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालन गरी अनुगमन गरिरहेको विभागले जनाएको छ। तर अनुगमन प्रभावहिन बन्दै गएको छ।
अनुगमन कर्मकाण्डी भएको छ। बजारमा अखाद्य बस्तुको विगविगी कायमै हुनुु र उपभोक्ता ठगिनबाट नजोगिनुले पनि अनुगमन कर्मकाण्डी भएको पुष्टि गर्छ।
के छ बजारको अवस्था ?
बजारमा महँगीले आकास छोएको छ। गुणस्तरहीन वस्तु एवं सेवाको बिक्री वितररण व्यापक रहेको लुकेको छैन। म्याद गुज्रिएका सामानहरू बिक्री गर्ने प्रवृत्ति कायमै छ।
प्रदायकहरूबाट व्यावसायिक आचारको स्वघोषणा र त्यसको पालना हुन सकेको छैन । बिचौलिया र कालोबजारीहरूको बिगबिगी कायमै छ।
निजी क्षेत्रका प्रदायकहरूमा संगठित र नाफामुखी प्रवृत्ति छ । दैनिक घरायसी उपभोग्य वस्तु चामल, दाल, नुन, तेल, ग्यास आदि क्षेत्रमा भैरहेको अनियमितता र ठगीबाट उपभोक्ताहरू आक्रान्त छन् । बजारमा सेवा वा वस्तु खरिद गर्दा खुसी हुनुपर्ने उपभोक्ता ठगिएको महसुुुस गर्दै सधंै खिन्न मन लिएर बस्नुपर्ने अवस्था छ ।
साक्षरताको प्रतिशत कम रहेको हाम्रो जस्तो मुलुकमा ठूलो संख्याका उपभोक्तामा सचेतना र जागरणको अभाव छ । उपभोक्ताले होसियार हुने पर्याप्त क्षमता राख्न सक्ने अवस्था छैन ।
उपभोक्ता आफै सचेत हुनुको विकल्प छैन
संवैधानिक व्यवस्था र प्रचलित उपभोक्ता संरक्षण ऐन, नियमावली लगायतका दर्जनौं कानुन भएपनि उपभोक्ताले अझै स्वस्थ, सहज र सुलभ मूल्यमा वस्तुको उपभोग गर्न पाएका छैनन् । कालोबजारी गरी बढी मूल्य असुल्ने र मिसावट गरी उपभोक्ताको जीउज्यान, स्वास्थ्य र सम्पत्तिमा हानी पु¥याउनेलाई सामान्य कारबाही भएको बाहेक ठूलो कारबाही भएको पाइदैन। साना व्यवापरी बढीजसो कारबाहीमा परेको देखिए पनि ठूलाले शक्तिको आडमा उन्मुक्ति पाउने गरेका छन्।
सरकारी निकायले बजार अनुगमन गर्ने भनेको यस्तै चाडडपर्वको बेला हो। त्यो पनि केही क्षेत्रमा मात्रै। पूरै बजारभरि उनीहरु पुग्न सक्ने अवस्था छैन। एक दिन एउटा क्षेत्रमा अनुगमन गरेर व्यापारीहरुको चेत खुल्ने अवस्था छैन। अब चेत खुल्नुपर्ने भनेको स्वयं उपभोक्ताकै हो। उपभोक्ता आफै सचेत नहुने हो भने ठगिनबाट जोगिन मुस्किल छ। अखाद्य बस्तु प्रयोगबाट रोकिने अवस्था छैन।
दर्ताबिनाका वस्तु सेवा तथा प्रदायकहरूलाई बहिष्कार गर्नुपर्छ । दर्ता भएका मालवस्तु, सेवा र प्रदायक कहाँ मात्र खरिद गर्ने र बिलबिजक लिने बानी बसाल्नुपर्छ ।
कुनै बस्तु वा सेवामा चित्त नबुझे तत्काल नियामक निकाय वा उपभोक्ता संस्थामा उजुरी गर्नुपर्छ ।
लेबलिङ नभएका, म्याद गुज्रिएका सामग्री उपभोग गर्नु हुँदैन । वस्तु वा सेवा खरिद गर्दा त्यसको नापतौल ठीक भए–नभएको यकिन गर्नुपर्छ ।
वस्तु र सेवा खरिद गर्दा मूल्य हेरी खरिद गर्नुपर्छ ।
औषधि तथा खाद्यपदार्थ किन्दा उत्पादकको नाम, ठेगाना, दर्ता, मिश्रण, परिमाण, तौल, करसहितको अधिकतम खुद्रा मूल्य, ब्याच नम्बर, उपभोगको म्याद सकिने मिति हेरी उपयुक्त लागे मात्र खरिद गर्नुपर्छ ।
मूल्य तिरेपछि बिल पाउनु उपभोक्ताको अधिकार हो । सामान खरिद गरेपछि बिल लिई सुरक्षित हुनुपर्छ ।