कञ्चनपुर – यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार गत आर्थिक वर्षमा १२ महिला र ४५ पुरुष गरी ५७ जनामा फोक्सोको क्षयरोग पुष्टि भएको थियो ।
सोही अवधिमा फोक्सो बाहेक शरीरका अन्य अंगमा क्षयरोग देखिएका २० क्षयरोगीको उपचार गरिएको थियो ।
स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टका अनुसार गत वर्ष ११ जनामा उपचारपछि पुन: क्षयरोग बल्झिएको थियो । चालु आर्थिक वर्षमा हालसम्म फोक्सोको क्षयरोगबाट प्रभावित आठ महिला र २१ पुरुष गरी २९ जना उपचाररत छन् । अन्य अंगमा क्षयरोगको संक्रमण देखिएका तीन महिला र १० पुरुष उपचाररत छन् । पाँच जनामा पुन: रोग बल्झिएको छ ।
“क्षयरोग ‘माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस’ नामक जीवाणुका कारण हुने सङ्क्रामक रोग हो” शाखा प्रमुख भट्टले भने, “जुन मुख्यत: हावामार्फत सर्ने गर्दछ, सङ्क्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा वा थुक्दा निस्कने सुक्ष्म किटाणु मार्फत यो रोग स्वस्थ व्यक्तिमा सर्ने गर्दछ ।”
नगरपालिकाले बिरामीको सहज पहुँचका लागि बन्साह, पिताम्बर, झलारी, पिपलाडी र वनसमिति गरी पाँच स्थानमा डट्स केन्द्र सञ्चालनमा ल्याएको छ । ती केन्द्रबाट स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नि:शुल्क औषधि वितरण, खकार परीक्षण र उपचार सेवा प्रदान गरिँदै आएको छ ।