५ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका चितवनका दुई जना गत चैत ३ गते बेलायतबाट आएको खुलेको छ ।
नाताले उनीहरु आमा छोरा हुन् ।
६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए ।
र्यापिड टेस्टको क्रममा शंकास्पद देखिएपछि दुई जनासहित परिवारका अर्का एक व्यक्तिलाई भरतपुर ल्याइएको थियो । उनीहरुको हिजो (बिहीबार) स्वाब संकलन गरी भरतपुरमा परीक्षण गरिएको थियो । भरतपुरमा स्वाव परिक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिएपछि थप परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । टेकुमा गरिएको पुनः परीक्षणमा पनि दुई जनाकै कोरोना पोजिटिभ देखिएको हो ।
पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ का ती कोरोना संक्रमित आमा र छोरा अहिले भरतपुर अस्पतालको आइसोलसन कक्षमा उपचाररत छन् ।उनीहरुको अवस्था सामान्य छ । उनीहरुमा कुनै लक्षण पनि छैन ।
चितवनमा कोरोना संक्रमणको यो पहिलो केस हो । यसअघि चितवनमा कोरोना संक्रमित फेला परेका थिएनन् ।
यी आमाछोराले एक महिना अगाडी नै बेलायतबाट कोरोना लिएर आएका थिए वा नेपाल आएपछि यिनिहरु संक्रमणमा परेका हुन् भन्ने प्रश्नको उत्तर भने अहिलेसम्म पाइएको छैन ।