NMB Bank
काठमाडौं । विरोध प्रदर्शनमा उत्रिएका नेकपा (एमाले)का सात कार्यकर्तालाई शनिबार (चैत १४) प्रहरीले नियन्त्रणमा लिएको छ । बबरमहलबाट चार र सिंहदबार प्रवेश गर्ने मुख्य गेट आसपास क्षेत्रबाट तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा कार्यकर्ताले प्रदर्शन गरेका हुन् । नियन्त्रणमा लिइएका सात कार्यकर्तालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।
प्रदर्शनकारी देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र प्रवेश गर्न खोजेपछि सामान्य लाठीचार्ज गरिएको परिसरका एसपी पवन भट्टराईले बताए । त्यसक्रममा कोही घाइते नभएका उनले जानकारी दिए । हाल स्थिति सामान्य रहेको उनको भनाइ छ ।
एमाले कार्यकर्ताले माइतीघर क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका थिए । केही प्रदर्शनकारी सिंहदरबारतर्फ अघि बढेका थिए । उनीहरूलाई प्रहरीले तितरबितर पारेको थियो ।