अर्थमन्त्री डा. युवराज खतिवडाले आज पदबाट राजिनामा दिएका छन् । अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेको डा. खतिवडाले आज अपरान्ह बालुवाटारमा प्रधानमन्त्री ओलीसँगको भेटमा दुवै पदबाट राजिनामाको जानकारी गराएका छन् । मौखिक रुपमा राजिनामा दिइसकेको र आज साँझ लिखित रुपमा राजिनामा बुझाउने खतिवडाको सचिवालयले जनाएको छ ।डा. खतिवडाले राजिनामा दिएसँगै नयाँ अर्थमन्त्रीमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको चर्चा सुरु भएको छ ।
वर्तमान मन्त्रिमण्डलका विवादरहित दुई पात्र खतिवडा र ज्ञवाली मध्ये अर्थमन्त्रालयको जिम्मेवारी प्रदिप ज्ञवालीलाई दिन लागेको चर्चा राजनीतिक वृत्तमा चलेको छ ।
उता, अर्थमन्त्रीको रुपमा चर्चा गरिएका नेकपाका महासचिव विष्णु पौडेलले मन्त्री नबन्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएका छन् । यस लगत्तै अब अर्थमन्त्रीमा ज्ञवालीलाई ल्याउने तयारी गरिएको जनाइएको छ ।उता, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै नयाँ अर्थमन्त्री नियुक्त नगरी मौजुदा मन्त्रिपरिषदकै सदस्यलाई अर्थमन्त्रालयको जिम्मेवारी दिन सक्ने सम्भावना समेत रहेको जनाइएको छ ।
विकल्प खोज्दै ओली
नेकपा सचिवालयले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमा डा.युवराज खतिवडालाई निरन्तरता दिने उपायहरुको खोजी गरिरहेका छन् ।
६ महिनाअघि नै राष्ट्रियसभामा बाँकी रहेको मनोनित कोटामा खतिवडालाई सिफारिस गरेको बताएका प्रधानमन्त्री ओली पछिल्लो समय गलेको अनुभव भएको छ ।
खतिवडाका लागि मरिहत्ते गर्दागर्दै पनि पूर्वविकल्पमा ओली टिक्न नसकेपछि बिहीबारको सचिवालय वैठकमा आफैले बामदेवलाई सिफारिस गर्ने बताएर पार्टीको पूर्वनिर्णय कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएसँगै अर्थमन्त्री खतिवडाको बहिर्गमन पक्का भएको भन्दै धेरै क्षेत्रहरुमा खुसियाली छाएको छ ।
तर, खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित सांसद रामनारायण बिडारीलाई राजीनामा गराउने र उनका ठाउँमा खतिवडालाई लैजाने योजना अघि सारेको नेकपा उच्च स्रोतको दावी छ ।
प्रधानमन्त्रीको आश्वासनमा परेर बिडारीले राजीनामा दिए खतिवडा पुनः राष्ट्रिय सभामा आउने र बाँकी कार्यकाल अर्थमन्त्री बन्ने बाटो खुल्नेछ । तर, यसका लागि केही समय भने लाग्ने छ । त्यसका लागि केही समय प्रधानमन्त्री आँफैले अर्थमन्त्री पद सम्हाल्नेछन् ।
नेकपा उच्च स्रोतकाअनुसार बिडारीले राजीनामा नदिएमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकार बनाउनेछन् । आफूले भनेको मान्ने व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएर आफूमार्फत अर्थ मन्त्रालय हाक्न सक्नेछन् ।