काठमाडौं। मतदान सकिएको २४ घण्टाभित्रै प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन आयोग ले जनाएको छ। आयोगका अनुसार मतपेटिका संकलन भएको २४ घण्टाभित्र परिणाम घोषणा गर्ने गरी सम्पूर्ण व्यवस्थापन मिलाइएको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले यसपटक प्रतिनिधिसभाको मात्रै निर्वाचन भएकाले मतगणनामा अघिल्ला निर्वाचनभन्दा कम समय लाग्ने बताए। “मतदान सम्पन्न भएलगत्तै मतपेटिका संकलन गरी गणना कार्यलाई द्रुत गतिमा अघि बढाइन्छ,” उनले स्पष्ट पारे।
उनका अनुसार समानुपातिकतर्फको मतगणनामा एक–दुई दिन लाग्न सक्ने भए पनि प्रत्यक्षतर्फको परिणाम भने २४ घण्टाभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।
आयोगले उपत्यकाबाहिर मतपत्र पठाउने काम सम्पन्न गरिसकेको जनाएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका बाँकी स्थानमा पनि मंगलबार साँझसम्म मतपत्र पुर्याउने कार्य अन्तिम चरणमा पुगेको छ। मतदान अधिकृतहरूको तालिम मंगलबार साँझसम्म सम्पन्न हुने र त्यसपछि आवश्यक सामग्री बुझेर सम्बन्धित मतदान केन्द्रमा खटिने तयारी रहेको आयोगले जानकारी दिएको छ।
निर्वाचन तयारीअन्तर्गत मतपत्र छपाइदेखि ढुवानीसम्मका सम्पूर्ण व्यवस्थापकीय कार्य पूरा भइसकेका छन्। कर्मचारीहरू कार्यक्षेत्रमा खटिने क्रम सुरु भइसकेको आयोगले जनाएको छ।
हिमाली क्षेत्रमा अस्थायी मतदान केन्द्र निर्धारणबारे भने आयोगले अझै अन्तिम निर्णय गरिसकेको छैन। भौगोलिक विकटता र मौसमको प्रतिकूलतालाई ध्यानमा राख्दै मतदातालाई मताधिकार प्रयोग गर्नबाट वञ्चित हुन नपर्ने गरी आवश्यक परे जहाँ मतदाता छन् त्यहीँ पुगेर मत संकलन गर्ने विकल्पमा आयोग तयारी अवस्थामा रहेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए।
निर्वाचनको मुखमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना नफैलाउन उनले सबैलाई आग्रह गरेका छन्। साथै राजनीतिक दलहरूलाई निषेधको राजनीति नगर्न चेतावनी दिँदै स्वच्छ प्रतिस्पर्धाबाट मात्रै असल नेतृत्व चयन हुने उल्लेख गरे।
निर्धारित कार्यतालिकाअनुसार यही २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने छ।