सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक सकिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले पार्टी विवाद समाधानका लागि गठित कार्यदललाई अनुमोदन गरेको छ । आज बसेको बैठकले महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदललाई अनुमोदन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
थापाले भने, कार्यदललाई बैठकले बधाई ज्ञापन र अनुमोदन गरेको छ । उनले कार्यदलले प्रतिवेदन अध्यक्षद्वय समक्ष प्रस्तुत गर्ने र बैठकमा आउने बताए । कार्यदलको सुझाव सचिवालय बैठक बसी छलफल गरिने बुझिएको छ । सचिवालयले अनुमोदन गरेपछि मात्र कार्यान्वयन गर्ने गरी तय भएको छ ।
पार्टी र राष्ट्रमा देखा परेका समस्या समाधानको कार्यभारलाई पूरा गर्न पार्टी र सरकार सक्षम हुने गरी गर्नुपर्ने कामहरुका बारेमा सुझाव दिन कार्यदल सक्षम हुनेछ भन्ने आशा सचिवालयले लिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ बताए।
बैठकमा कार्यदललाई प्रभावकारी काम गर्न भन्दै उत्साही ढंगले उपयुक्त सुझाव आएको श्रेष्ठले जानकारी दिए । कार्यदलको म्याद नतोकिए पनि छिटोभन्दा छिटो काम सक्न भनिएको उनको भनाइ छ।
‘छिटोभन्दा छिटो सकारात्मक ढंगले विवाद समाधान हुने, पार्टी एक ढिक्का हुने, पार्टी र सरकारको काम प्रभावकारी हुने र पार्टी महाधिवेशनमा जानेतर्फ हाम्रो ध्यान केन्द्रित छ। ’ प्रवक्ता श्रेष्ठले भने।
मन्त्रिमण्डल पुनर्गठन र मुख्यमन्त्री हेरफेर जस्ता विषय बाहिर हल्ला भएपनि पर्टीभित्र यसबारे अहिलेसम्म छलफल नभएको प्रवक्ता श्रेष्ठको भनाइ छ । कार्यदलले प्रतिवेदन दिएपछि त्यसबाट आएको निष्कर्षका आधारमा अघि बढ्ने उनले बताए।