समुदायमा संक्रमण फैलिएको आशंका गरिएको पर्सा जिल्लामा थप २ जनाको निधन भएको छ ।
वीरगन्जको अस्पतालमा उपचारका क्रममा बुधबार बिहान वीरगन्ज १५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको हो । उनमा साउन १९ गते राती कोभिड १९ संक्रमण पुष्टि भएको थियो ।
यस्तै गत सोमबार राति उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमै मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका ८ की १८ वर्षीया युवतीमा भने मङगलबार राति संक्रमण पुष्टि भएको थियो ।
पर्सा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । साउनमा मात्रै पर्सामा १३ जनाको मृत्यु भएको हो ।
एकैदिन १ सय १६ जनामा कोरोना पुष्टि
पर्सामा बुधबार एकै दिन १ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार बिहान गरिएको परीक्षणमा १सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।
वीरगन्ज कारागारका कैदीबन्दी ,सशस्त्र प्रहरी, नेपाली सेना, वीरगन्ज महानगरपालिकाका कर्मचारीसहित ११६ जनामा बुधबार बिहान संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
पर्सामा हालसम्म एकै दिनमा यति ठूलो संख्यामा संक्रमण भेटिएको यो पहिलो हो । यसअघि गत आइतबार एकै दिन पर्सामा ७३ जनामा संक्रमण भेटिएको थियो । १ सय १६ जना संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या ७ सय ३० पुगेको जिल्ला स्वास्थय कार्यालय पर्साले जनाएको छ ।