काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा ४ वर्षपछि आफ्नो मूल घर राप्रपामै फर्किएका छन् । राप्रपा र राप्रपा नेपालबीच आज एकता भएको छ ।
६ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै थापाले राप्रपा नेपाललाई राप्रपामा विलय गराएका हुन् । सहमति पत्रमा राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भएर पछि राप्रपा नेपाल रोजेकाहरूलाई सोही जिम्मेवारीमा फर्काइने उल्लेख छ ।
साथै, सहमतिको आधारमा राप्रपा नेपालको तर्फबाट पदाधिकारी र सदस्यहरू केन्द्रीय कार्यसमितिमा रहने जनाइएको छ ।
सहमतिका आधारमा राप्रपाको २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशन हुँदाका बखत कायम रहेका वडा, गाउँ, नगर र जिल्ला तहका पदाधिकारी सदस्यहरूलाई तत् तत् जिल्लामा सम्मानजनक ढंगबाट गर्दै लगिने भनिएको छ ।
यस्तै राप्रपा नेपालका संयोजित संगठनका पदाधिकारी र सदस्यहरूलाई राप्रपाको सम्बन्धित भातृसंगठहरुमा सम्मानजनकरुपमा समायोजन गरिने भएको छ ।
एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले राष्ट्रवादी सबै शक्तिहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिए । आगामी चुनावमा राप्रपालाई बलियो शक्तिका रूपमा स्थापित गर्न लागिपर्ने प्रतिबद्धता उनीहरूको छ ।