काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स्वागत गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८२ गत कात्तिक ३० गते शुल्क वृद्धि गरी ९ हजार ५०० बनाएको थियो । यद्यपि यसअघि ६ हजार ५०० शुल्कमा वृद्धि भएको हो । त्यो शुल्कले वैदेशिक रोजगारमा जाने कामदारलाई भार परेको भन्दै व्यवसायीहरूले चौतर्फी विरोध जनाएका थिए ।
श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीले अत्यन्त चर्को शुल्क भएको महसुस गरेर कामदारको हितका लागि वृद्धि भएको शुल्क खारेज गरिएको बताए। उनले अन्तराष्ट्रिय आप्रवासन दिवसको दिन अनावश्यक स्वास्थ्य परीक्षण शुल्क लिने निर्णय खारेज गरिने बताएबमोजिम मन्त्रालयले यही पुस ४ गते शुल्क वृद्धि गर्ने निर्णय खारेजी गरेको आज जारी विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तिमा वृद्धि गरेको शुल्क खारेज गरेर साविककै शुल्क लागु हुने भनिएको छ ।
मन्त्रालयले ३४ वटा स्वास्थ्य परीक्षण आवश्यक भएको भन्दै ९ हजार ५०० शुल्क बनाएको भए पनि जुन गन्तव्य मुलुकहरूमा सबै जाँच गर्न आवश्यक नरहेको वैदेशिक रोजगार संघका अध्यक्ष भुवनसिंह गुरुङले बताए ।