गोरखा । गोरखामा बूढी गण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढी गण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढी गण्डकी ‘ख’ जलविद्युत् आयोजना बन्ने तरखरमा रहेको आयोजनाका इञ्जिनियर दुर्गेश मगरले बताए। उनका अनुसार दुवै आयोजना नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले प्रवर्द्धन गर्न लागेको हो ।
कम्पनीले रु. ३१ अर्ब ३२ करोडको लागतमा बूढी गण्डकी ‘क’ र रु ५६ अर्ब ९९ करोडको लागतमा बूढी गण्डकी ‘ख’ आयोजना निर्माण गर्न लागेको इञ्जिनियर मगरले जानकारी दिए । बूढी गण्डकी ‘क’ अन्तरगत, धार्चे–३ को लुस्याङमा बाँध बाँधेर चार किलोमिटर सुरुङबाट पानी ल्याई माछा खोलामा विद्युत् गृह निर्माण गर्ने योजना कम्पनीको छ ।
आयोजना रन अफ द रिभर प्रविधिको हुनेछ । एक सय ११ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले बताए। सो आयोजनाको माछा खोलामा उत्पादित विद्युत् १२ दशमलव ७ किलोमिटर ट्रान्समिसन लाइन हुँदै बूढी गण्डकी ख मा जोडिनेछ ।
दुई सय २६ मेगावाट क्षमताको बूढी गण्डकी ‘ख’ को बाँध धार्चे–७ खानीबेंसीमा बाँधिनेछ । त्यहाँबाट ९ दशमलव ५ किलोमिटर सुरुङ हुँदै सोतीमा विद्युत् गृहमा विद्युत् उत्पादन गरिनेछ । रन अफ द रिभर प्रविधिको सो आयोजनामा १९७ दशमलव ९७ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले बताएका छन् ।
“यी दुवै आयोजनाको इआइ र पिपिए भइसकेको छ”, उनले भने, “भूकम्पअघि गरेका दुवै आयोजनाको सर्वेमा भूकम्पको प्रभावपछि भएको हेरफेरको अवस्थाबारे अहिले अन्तिम सर्वेको काम भइरहेको छ । आउँदो सुक्खायामबाट निर्माणको काम गर्ने तयारी छ ।”
यहाँ उत्पादन भएको र बूढी गण्डकी क बाट प्राप्त भएको गरी ३२९ दशमलव ४ मेगावाट विद्युत् १८ दशमलव ५ किलोमिटर टाढा धादिङको लापास्थित सवस्टेशनमा जोडिने छ ।