नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज विहीबार लुम्बिनी लायन्स र बिराटनगर किग्स खेल्दैछन्। हिजो भएको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायर खेल्न लागेको हो । विराटनगर भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै दोस्रो क्वालिफायर खेल्न लागेको हो । पहिलो क्वालिफायरमा पराजित हुने टोलीले इलिमिनेटरबाट विजयी हुने टोलीसँग खेल्न पाउने प्रावधान अनुसार विराटनगरले लुम्बिनीसँग खेल्न लागेको हो ।
प्रतियोगितामा सबैभन्दा धेरै २२० रन बनाएको विराटनगरले यही प्रतियोगितामै सबैभन्दा कम ७८ रनमा अलआउट भयो । सुदूरपश्चिम रोयल्ससँग पहिलो क्वालिफायरमा १५६ रनको मध्यम लक्ष्य पाएपनि विराटनगर ७८ रनमा अल आउट हुँदै ब्याटिङ लाइन अप कोल्याप्स गराएको थियो । फाप डुप्लेसीस, मार्टिन गुप्टिल, मर्चेन्ट डी ल्याङग, साम हेजलेट जस्ता अन्तर्राष्ट्रिय स्टार रहेको विराटनगरमा सन्दीप लामिछाने, लोकेश बम, बसिर अहदम, सूर्य तामाङ, प्रतिस जीसी लगायतको फर्म सबैभन्दा ठूलो हतियार हो । तर पछिल्लो खेलमा भने विराटनगरको ब्याटिड्ड तालमेलमा ठूलो समस्या देखिएको थियो । पहिलो बलमै ठूलो शट हान्न खोज्दा हेजलेट क्याच आउट भएका थिए भने गप्टिल र डु प्लेसीसको तालमेल नमिल्दा गप्टील रन आउट भएका थिए । ठूलो लक्ष्य नभए पनि विराटनगरका ब्याटरले टिकेर खेल्ने प्रयास नगरेको भन्दै समर्थकले आलोचना गरिरहेका छन् ।
यता लुम्बिनी भने पहिलो खेल पछिका लगातार ३ खेल हारे पनि त्यसपछिका ४ खेल लगालग जित्दै दोस्रो क्वालिफायरमा पुगेको छ । बलियो मानिएको काठमान्डुलाई मगलबार सहजै हराउँदै लुम्बिनीले आफू बलियो रहेको प्रमाण दिइसकेको छ । डी आर्सी सर्ट, रुबेन ट्रम्पलम्यान जे जे स्मिथलगायत विदेशी खेलाडीको गजबको प्रदर्शनमा कप्तान रोहित पौडेल र शेर मल्लको उच्च लयले साथ दिइरहेको लुम्बिनी जुनसुकै बेला खेलमा फर्कने सामर्थ्य राख्ने टोली हो । त्यसैले खेलमा कडा प्रतिस्पर्धा हुने आँकलन गर्न सकिन्छ ।
आजको विजेताले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । मंगलबार पहिलो क्वालिफायरमा विराटनगर किङ्ग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको हो।