काठमाडौ, मङ्सिर २३ – जेंजी आन्दोलनका क्रममा मृतक तथा घाइते परिवारलाई युनाइटेड नेप्लिज एशोसियशन (युएनए) ले आर्थिक सहयोग गर्ने भएको छ। अमेरिकाको टेक्सासमा लामो समयदेखि नेपाली समुदायको सामाजिक उद्देश्यका लागि स्थापना भएको युएनएले भदौ २३ र २४ गतेका आन्दोलनमा सहिद भएका नागरिकका परिवारलाई सहयोग पुर्याउने निर्णय गरेको हो।
यस सम्बन्धमा डिसेम्बर ९ मा बसेको संस्थाको बैठकले नेपाल सरकारले औपचारिक रूपमा घोषणा गरेका ४५ जना सहिदका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको युएनएले जनाएको छ।
युएनएका अध्यक्ष भक्त बहादुर भण्डारीका अनुसार २०२६ जनवरीको पहिलो सातामा काठमाडौँमा विशेष कार्यक्रम आयोजना गरिनेछ। सोही कार्यक्रममा सहिद परिवारका प्रतिनिधिहरूलाई औपचारिक रूपमा सहयोग हस्तान्तरण गरिनेछ।
अध्यक्ष भण्डारीले आन्दोलनमा ज्यान गुमाएका परिवारप्रति सहानुभूति र समुदायप्रति उत्तरदायित्वबोधका साथ युएनएले यो पहल गरेको बताए। उनले युएनए अमेरिकामा रहेका नेपालीहरूको साझा सामाजिक संस्था भएकाले जहाँ आवश्यक पर्छ, त्यहाँ मानवीय सेवा पुर्याउने परम्परालाई यस अभियानले अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।
युएनएका अनुसार सहयोग रकम तथा विस्तृत कार्यक्रमको जानकारी छिट्टै सार्वजनिक गरिनेछ।